एनएसएल : ललितपुरलाई पराजित गर्दै काठमाडौं फाइनलमा

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बिहीवार) भएको खेलमा काठमाडौं रेजर्स एफसीले ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। यस जितसँगै काठमाडौंले फाइनलमा स्थान पक्का गरेको छ।

दशरथ रंगशालामा खेलिएको दोस्रो क्वालिफायर खेलमा काठमाडौंका लागि मेसौके ओलोमोउले व्यक्तिगत दुई गोल गरेका थिए भने अर्को गोल स्टेफन विनोङले गरेका थिए।

पहिलो हाफको शुरुवातमा नै ललितपुरले दुई सुनौला अवसरमा गोल गर्न चुकेको थियो। काठमाडौंले त्यसको भरपुर फाइदा उठायो।

खेलको १५औं मिनेटमा रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरे। आफ्नो पछिल्ला ४ खेलमा १ गोल पनि नखाएका ललितपुरका गोलरक्षक अर्पण कार्कीले मेसौके ओलोमोउको पेनाल्टी भने रोक्न सकेनन् र काठमाडौंले खेलमा अग्रता लियो।

त्यसपछि खेलको २१औं मिनेटमा मेसौके ओलोमोउले व्यक्तिगत दोस्रो गोल गरे। ‘डि-बक्स’ भित्रबाट उनले सहज तर शानदार गोल गर्दा काठमाडौंले अग्रता दोब्बर बनाएको थियो।

पहिलो हाफको खेल काठमाडौंको पक्षमा गएको थियो। दोस्रो हाफको कथा पनि लगभग त्यस्तै रहन पुग्यो। खेलको ६०औं मिनेटमा अर्का विदेशी खेलाडी स्टेफन विनोङले गोल गर्दै काठमाडौंको अग्रता तेब्बर बनाए।

२४ घण्टाको अन्तरालमा दुई खेल खेलेको ललितपुरको टोलीले खेलमा फर्किन निकै प्रयास गरेपनि सो हुन सकेन र काठमाडौंले ‘भ्याली डर्बी’मा जित दर्ता गर्यो। यस जितसँगै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ।

‘एनएसएल’को फाइनल खेल शनिवार, ज्येष्ठ १ गतेको दिन काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबिच हुनेछ। सो खेल दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?