राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरू

काठमाडौं ।  नेपाल राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बुधवारबाट शुरू भएको छ। नेपाल राष्ट्रिय टोलीले ‘एएफसी’द्वारा प्रो-लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठको निगरानीमा प्रशिक्षण थालेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा राष्ट्रिय टोलीले प्रशिक्षण शुरू गरेको कुरा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लोकपथलाई बताए ।

‘मे १७’ तारीखबाट शुरू हुनेगरी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका थिए। तर ‘मे २९’ मा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएपछि प्रशिक्षण अघि सरेको हो।

३२ खेलाडीमध्ये स्यान्सु भुषाल, गौतम श्रेष्ठ, विवेक बस्नेत र मनिश डाँगी पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका छन्।

‘एनएसएल’मा आबद्ध खेलाडीहरु प्रशिक्षणमा शामिल छैनन्। ज्येष्ठ १ मा एनएसएल फाइनल सकिएपछि राष्ट्रिय टोलीको प्रशिक्षण जोडतोडकासाथ अघि बढ्ने कुरा मुख्य प्रशिक्षक अल्मुताइरीले लोकपथसंगको कुराकानीमा बताए।

नेपालले ‘मे २९’ मा इराकको ‘बासरा स्टेडियम’मा मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछि विश्वकप छनोटका बाँकी तीन खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ।

नेपालले गत महिना घरेलु मैदानमा ‘थ्री-नेसन्स कप’को उपाधि जितेको थियो।

प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल सुनार, दिप कार्की

डिफेन्डर: अजित भण्डारी, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, विकास खवास, निशान खड्का, दिनेश राजवंशी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ

मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, संजोक राई, विशाल राई, एरिक विष्ट, अन्जन विष्ट, सुनिल बल, रवि शंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, प्रकाश बुढाथोकी, सुमन लामा, विवेक बस्नेत, मनिश डाँगी, स्यन्सु भुषाल

फरवार्ड: अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?