मातृभूमीको घाउमा एनआरएनए मल्हम बन्नुपर्छ : आइसीसी सदस्य उम्मेदवार विष्णु बहादुर शाह

लोकपथ
130
Shares

काठमाडौैं – गैर आवासिय नेपाली संघ एनआरएनए आइसीसीको सदस्य पदमा अमेरिकाबाट उम्मेदवारी दिएका विष्णु बहादुर शाहले एनआरएन नेपालको घाउमा मल्हम बन्नु पर्ने बताएका छन् ।

नेपालले झेलिरहेको वर्तमान कोरोना संकटबाट बचाउन एनआरएनले प्रभावकारी कदमका लागि आफूहरु सहयोग गर्न तत्पर भएको उनको भनाई छ ।

सन् २०२१–२०२३ कार्यकालको लागि आइसीसी सदस्यका प्रत्यासी शाह नेपाली अमेरिकन डायस्पोरामा समाजसेवा र व्यवसायमा सम्मानित नाम हो । सन् २०१७–२०१९ को कार्यकालमा बोर्ड अफ डाइरेक्टरको रुपमा सेवा गरेका शाह अमेरिकाको स्पोकन भ्याली, वाशिंगटनमा होटल व्यवसायमा सक्रिय छन् । मातृभुमीको सेवा नै प्रवासी नेपालीको मुल उद्येश्य हुनुपर्ने बताउने शाह अमेरिकामा पुराना एनआरएन अभियन्ता मानिन्छन् । सन् २००९ मा यस अभियानमा जोडिएका शाह सन् २०१५ मा लाइफ मेम्बर हुदै २०१७ मा एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा चुनिएका थिए। “विश्वको जुन कुनामा पुगेपनि हाम्रो मुटु सगरमाथा र बुद्धको नाममा धड्किन्छ” शाह भन्छन् ।

उनी एनआरएनएले नेपालमा सञ्चालन गरेको हरेक परियोजना तथा अभियानमा संलग्न छन्। अछाममा जन्मिएका शाह सानैदेखी नेपाली कांग्रेसको राजनीतिमा संलग्न थिए । शाह सन् १९९४ मा नेपालगंज क्याम्पसको स्ववियू सभापति थिए भने पछि त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको नेविसंघ इकाइ सचिव र उपसभापति बने। उनी नेपाली कांग्रेस महासमिति सदस्य समेत भए। सन् २००७ मा अमेरिका आएका शाहले अर्को वर्ष सन् फ्रान्सिस्कोमा होटल व्यवसाय शुरु गरे। नर्दन क्यालिफोर्नीया नेपाली समाजको सल्लाहकार समेत रहेका शाह करिब १० बर्ष त्यहाँ रहँदा सामाजिक काममा निरन्तर सक्रिय रहे। उनले रोयल विजनेस एलएलसीले होटल, ग्यास स्टेशन, रेष्टुरेष्ट लगायतका व्यवसायहरु संचालन गरेका छन् । उनको रोड वे इन एण्ड सुइट स्पोकन भ्यालीमा एक अत्याधुनिक सुविधा सम्पन्न होटल मानिन्छ। नेपालमा पनि विभिन्न परियोजनाहरुमा संलग्न शाह कैलालीमा भारतिय पर्यटकलाई लक्षित गरि ‘वाटर फ्रन्ट’ सुविधा सहितको पाँचतारे होटल खोल्ने तयारीमा छन्। “सरोकारवाला निकायहरुमा कुरा गरिसकेको छु बजेट पनि तयार छ, अब लोकेसन छनोटमा लागेको छु’ उनले भने । यसले सुदुरपश्चिमको पर्यटन प्रवर्धन गर्ने उनको विश्वास छ।

नेपालको विभिन्न प्राकृतिक विपत्ति तथा मानविय संकटमा साथी बन्दै आएका शाहले हालैको कोरोना संकटमा सिलिन्डर ग्यास खरिदका लागी ठूलो रकम सहयोग गरेका थिए । “अमेरिका आएदेखि करिब एक लाख अमेरिकी डलर बराबरको सहयोग गरेको छु, सेवा नै मेरो जीवनको मुल उदेश्य हो,” उनी भन्छन् । मातृभुमीको सेवा र प्रवासी नेपालीको एकतामा जुट्नु पर्ने एनआरएनए आजकल मुल मर्मबाट बिमुख हुँदै भड्किलो बन्दै गएकोमा उनी दुखी छन्। “एनआरएनएले नेपालीलाइ एकताबद्ध गर्दै नेपालको विकासमा सहयात्री बन्नु पर्छ,” उनी थप्छन् ।

नेपाल सरकारले गैरअवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडो टुंग्याएमा नेपालमा लगानी बढ्ने र विदेशीएका नेपालीको आगामी पुस्ताहरु समेत नेपालसँग बिमुख हुन नपर्ने उनको निष्कर्ष छ। “मैले जितेमा नेपाल सरकारलाई नागरिकताको निरन्तरताको लागी निरन्तर दवाब दिनेछु। ” शाह भन्छन् । आफूले गर्दै आएको सामाजिक कार्य र एनआरएन अभियानमा दिएको योगदान नै आफ्नो जितको आधार भएको बताउने शाह मतदातहरुले उम्मेद्वारको विगतको भूमिका हेरेर मात्र भोट दिनुपर्ने सुझाव दिन्छन्।

“मेरो उम्मेदवारी नेपाली एकता र मातृभुमीको सहयोगको लागी हो, हामी सबै मिले नेपालमा ठूला कामहरु गर्ने सक्छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्,” अमेरिकावासी नेपाली सामू शाह अपिल गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?