रामेश्वर सापकोटा/काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिदैछ ।
बहुमतको सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) निर्णायक मानिएकोमा जसपा भित्र ओलीलाई समर्थन गर्ने र नगर्ने पक्षमा नेताहरु विभाजित भएपछि यो टिप्पणी लेख्दा सम्म बहुमतको सरकार बन्ने छाँट देखिएको छैन । कांग्रेस,माओवादी केन्द्र र सिंगो जसपा मिलेको खण्डमा बहुमतको सरकार बन्छ ।
तर जसपा भित्रको अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा र उपेन्द्र यादव समूह ओलीको विकल्पमा नयाँ सरकार बनाउने पक्षमा रहँदा संख्यात्मक हिसावले अब बहुमतको सरकार बन्ने सम्भावना कम देखिएको छ ।
ओलीकै कारण एकता भएको जसपा उनकै कारण फुटको संघारमा
२०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा नेपाल स्थापना भएको थियो । अहिलेको विकसित राजनीतिक घटनाक्रममा सत्तामा जाने र नजाने भन्नेमा जसपा भित्रको विवादले एकता फेरि भत्किने त होइन भन्ने आशंका उब्जिएको छ ।
२०७७ वैशाख ८ गते प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानून अध्यादेश मार्फत् संशोधन गर्ने अध्यादेश ल्याएपछि त्यतिवेला दुबै पार्टी तरंगित भएर राता रात पार्टी एकता गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी फुटाउन खोजेको भन्दै दुवै दलले तत्काल एकता गरे । उनीहरुलाई यो एकता आफ्नो पार्टीलाई फुटाउन नदिने आपतकालीन परिस्थितिले सिर्जना गरिदिएको मोड थियो । प्रधानमन्त्री ओलीकै कारण एक हुने मोडमा पुगेको जसपा फेरि आपतकालीन अवस्थामै ओलीकै कारण फुटको संघारमा पुगेको विश्लेषण हुँदैछ ।
यसको उहाहरणका रुपमा ओलीले प्रतिनिधि सभाबाट वैशाख २७ गते विश्वासको मत लिने बेला जसपाले देखाएको व्यवहारबाटै थाहा हुन्छ ।
एमाले नेता माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएपछि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद तटस्थ बसे भने उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिए । ओलीको पक्षमा ९३ मत परयो विपक्षमा १ सय २४ मत पर्यो । बहुमतका लागि १ सय ३६ मतको आवश्यकता रहन्छ हाल कायम रहेको प्रतिनिधि सभाको सांसदको गणना अनुसार । महन्थ पक्षका सांसदले मत दिएको भए विपक्षमा स्पष्ट बहुमत पुग्थ्यो र अहीले गठबन्धन सरकारको स्पष्ट खाका अगाडि आइसक्थ्यो ।
महन्थ पक्षका नेता डा. सुरेन्द्र झा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई धोखा दिएको आरोप लगाउँछन् । झा भन्छन,“हामीले सर्वदलीय सरकार बनायौं कोरोना पछि सवै मिलेर निर्वाचन गराऔं भन्यौ। त्यतिबेला देउवाले हुन्छ भन्नुभयो, तर पछि देउवाले उपेन्द्र पक्षलाई मात्रै लिएर हिड्न थाल्नुभयो ।” जसपामा कुरा नमिल्दा फुट्न सक्ने उनी बताउँछन ।
उता उपेन्द्र पक्षका नेता मोहम्मद इस्तियाक राइ जसपाको बहुमतले देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउने गरी निर्णय गर्ने र त्यो सबैले मान्ने दाबी गर्छन् । बहुमतको निर्णय सबैले मान्नै पर्ने भएकाले पार्टी नफुट्ने दाबी गर्छन् । यदि प्रधानमन्त्री ओलीको पार्टी एमालेले महन्थलाई प्रधानमन्त्री बनाउने निर्णय गरेमा भने जसपाले त्यसलाई मान्ने राइको भनाई छ ।
गठबन्धन बन्न रोक्न सके ओलीकै निरन्तरता
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिदैछ ।
प्रधानमन्त्री ओली बहुमतको सरकार बन्न नदिने कसरतमा लागेका छन् । उनले माधव नेपाल सहितका चारजना एमाले नेतालाई गरिएको कारवाही फिर्ता लिएका छन् । उनले आफू सत्ताामा रहिरहन नेपाल पक्षलाई फकाउने प्रयास गरिरहेका छन् ।
यदि माधव नेपाल पक्षले सांसद पदबाट राजीनामा दिएमा ओलीको सरकारले निरन्तरता पाउने छैन् । एमालेका १ सय २१ जना सांसद छन् । जसमा नेपाल पक्षमा २८ जना रहेका बताइएको छ । १ सय २१ जना एमाले र जसपाको महन्थ पक्षबाट १५ जना भए ओलीको पक्षमा बहुमत पुग्छ । विपक्षी गठवन्धनले बहुमतको सरकार बनाउन सक्दैन । उनी नेपाललाई फकाउने र महन्थ पक्षलाई मनाउने प्रयासमा लागिरहेका छन् ।
जसपा अध्यक्ष महन्थ र नेता राजेन्द्र महतोको प्रधानमन्त्री निवास बालुवाटार आउजाउ बाक्लिएको छ । गठबन्धन रोक्न सके ओली नै फेरि आज प्रधानमन्त्री बन्नेछन्, धारा ७६ को उपधारा ३ बमोजिम ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया