एमाले स्थायी कमिटी बैठक : यी हुन् ४ मुख्य निर्णयहरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले ४ नेताहरुलाई पार्टीले गरेको कारवाही फुकुवासहित विभिन्न ४ निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनप्रति दुख व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालसहित धनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावललाई गरिएको कारवाही फुकुवा गर्ने, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रबारे निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

‘पार्टी भित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।’ प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आजको बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने र त्यसका लागि थप पूर्वाधार विस्तारका लागि मित्र राष्ट्रहरुसँग सहयोग जुटाउन कुटनीतिक पहल गर्न सरकारलाई सुझााव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?