खेमराज गौतम / गलकोट । बागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय कोरोना संक्रमित होम आइसोलेसनमा रहेका थिए। दश वर्षदेखि मधुमेह तथा उच्च रक्तचापको औषधि सेवन गर्दै आएकाले संक्रमित भएसँगै उहाँ केही हतास भएका थिए ।
यद्यपि घरमै निःशुल्क स्वास्थ्य सेवा तथा मनोपरामर्श सेवा पाएपछि उनलाई कोरोना जित्न निकै सहज मात्र भएन, थप उत्साह र ऊर्जासमेत प्राप्त भयो । उनी अहिले संक्रमणमुक्त भइसकेका छन् । उनी जस्तै बागलुङ बजारका छ संक्रमितले घरमै स्वयंसेवी नर्सबाट निःशुल्क सेवा र परामर्श पाएका छन् ।
बागलुङमा लामो समय विभिन्न स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा सक्रिय बागलुङ–१ की स्वास्थ्यकर्मी नितु खड्का अहिले होम आइसोलेसनमा बसेका संक्रमितको उपचार, मनोपरामर्श तथा स्वास्थ्य सेवामा व्यस्त छिन् । बिएमए नर्स रहेकी खड्काले यसअघि पनि वेलनेस नेपालका तर्फबाट नेपालमै पहिलो पटक प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) प्रत्येक घरघरमा पुर्याउने अभियान चलाएकी थिइन्। उनले तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन तथा घरघरमै प्राथमिक उपचार सामाग्री (फस्र्टएड बक्स) वितरण समेत गरिन् ।
कोरोनाको दोस्रो लहरसँगै संक्रमितको सङ्ख्या बढ्दै गएपछि आफूले सामाजिक दायित्व बोध गरेर निःशुल्क सेवा दिँदै आएको स्वास्थ्यकर्मी खड्काले बताइन् । “कोरोना महामारीमा स्वास्थ्यकर्मी भएको नाताले संक्रमितको उपचारमा सहयोग गर्ने लक्ष्य लिएँ, अनि फेसबुकमार्फत अभियान चलाएँ”, खड्काले भनिन्, “यही वैशाख २१ गतेदेखि आजसम्म फेसबुकको अभियान देखेर फोन गरेका छ संक्रमितको घरमै पुगेर मनोपरामर्शसहितको स्वास्थ्य उपचार गरिसकेकी छु, तीन जनाले कोरोना जित्नुभयो, तीन जना होम आइसोलेसनमै हुनुहुन्छ ।”
घरमै बसेर कोरोनासँगै लड्दै गरेका जो कोहीलाई निःशुल्क सेवा दिने उनको लक्ष्य छ । उनले भौतिकरूपमा पुग्न नसक्ने स्थानका मानिसलाई समेत फोनबाट मनोपरामर्श गर्दै आएकी छिन्। “अझै पनि कोरोना लाग्नासाथ अस्पताल जानुपर्छ, अक्सिजन लगाउनु पर्छ भन्ने छ । धेरै आत्तिने, मानसिक रूपमा तनाव लिने गरेको पाइयो, जटिल अवस्थामा मात्रै अस्पताल जान जरुरी छ, नत्र घरमै सङ्क्रमण मुक्त हुन सकिन्छ”, खड्काले भनिन् “संक्रमितलाई स्वास्थ्य सुरक्षाका उपाय, मनोपरामर्श तथा सामान्य औषधि उपचार गर्दै आएकी छु ।” संक्रमण हुनासाथ अक्सिजन लगाउनुपर्ने र अस्पताल पुग्नुपर्ने गलत धारणा विकसित भइरहेको र त्यसकै कारण अस्पताल भरिन थालेको उनको भनाइ छ । संक्रमितको रक्तचाप र अक्सिजनको मात्रा ठीक भएमा आत्तिन आवश्यक नरहेको उनले बताइन्।
यही वैशाख २१ गतेदेखि बागलुङमा निषेधाज्ञा जारी छ । जिल्लामा अधिकांश सङ्क्रमित होम आइसोलेसनमा छन् । उनीहरुलाई सामान्य औषधि र मनोपरामर्शले कोरोना जित्न सफल बनाउने खड्काको अभियान हो । उनले बागलुङबाटै भक्तपुरका एक संक्रमितलाई समेत फोनबाट मनोपरामर्श दिँदै आएकी छिन् । यस्तो बेलामा मनोपरामर्श औषधि उपचारभन्दा बढी आवश्यक रहेको उनको भनाइ छ ।
खड्काको अभियान फेसबुकमा देखेर आवश्यक पिपिलगायत स्वास्थ्य उपकरण सहयोग समेत आएको छ । सामाजिक अभियानकर्मी पुकार बमको सहयोगमा प्राप्त पिपिइले अहिले संक्रमितको घरमा पुग्न सहज भएको खड्काले बताइन् । कतिपय संक्रमितले आफै पीपीइको जोहो गरिदिएका छन् ।
अहिले संक्रमितलाई मनोपरामर्शसँगै ज्वरो, रुघाखोकी, ढाड दुखाइ, भिटामिन सीको कमीलगायतका समस्या देखिएको र सोहीअनुसार औषधि सिफारिस गर्ने गरेको उहाँले बताउनुभयो । खड्का वेलनेस समूह नेपालका अध्यक्ष, हाम्रो सानो प्रयास तथा रोट्र्याक्ट क्लब अफ बागलुङमा आवद्ध छिन् । स्टाफ नर्स पढ्दादेखि नै सामाजिक तथा परोपकारी कार्यमा जोडिँदै आएको उनको भनाइ छ ।
केही दिनअघि सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको निधन भएको थियो । यस्ता समाचारले पीडा दिने गरेको उनी बताउछिन् । “राज्यले स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा पनि ध्यान दिनुपर्यो । उपकरणहरू र नयाँ प्रविधि ल्याउनुपर्यो, राम्रो र सेवा सुविधा दिने सहुलियत शुल्कका अस्पतालहरू खोल्नुपर्यो”, उनले भनिन्, “राज्यको नजरमा सधैँ पेलिँदै आएका स्वास्थ्यकर्मीहरूको महत्व जनताले पनि यतिबेला बुझिदिनुपर्ने हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया