निषेधाज्ञाबीच पनि रातो मछिन्द्रनाथको रथारोहण (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण)छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलननुसार आज रथारोहण गरिएको हो । लोकेश्वर समेत भनिने रातो मछिन्द्रनाथको मुर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व शुरु भएको मनिन्छ ।

नेपालमा मनाइने जात्रा मध्यको लामो जात्रा मानिने मछिन्द्रनाथको जात्रा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सांकेतिक हुनेछ । काठमाडौं उपत्यकामा फैलिँदै गइरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको मापदण्ड अपनाउदै मछिन्द्रनाथको रथ तयार गरिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो ।

मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ । जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?