एनएसएल एलिमिनेटर : ललितपुरको लाखे जाग्दा बुटवल लुम्बिनी पराजित

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बुधवार) खेलिएको एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको छ । दशरथ रंगशालामा खेलिएको आजको खेलमा ललितपुरले बुटवललाई पराजित गर्दै क्वालिफायर दुईको यात्रा सुनिश्चित गरेको हो।

पहिलो हाफको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा रेफ्री नविन्द्र महर्जनले गोलरहित बराबरीमा पहिलो ४५ मिनेट अन्त्य गरेका थिए।

दोस्रो हाफमा कप्तान अन्जन विष्टले ललितपुरलाई अग्रता दिलाए। खेलको ६१ औं मिनेटमा मिक्चेन् तामाङको डिफ्लेक्टेड क्रसमा कप्तान विष्टले उत्कृष्ट डाइभिङ् हेडर प्रहार गर्दै ललितपुरलाई अग्रता दिलाए।

त्यसपछि बुटवल लुम्बिनीले प्रहार गरेको दुई शट गोल पोस्टमा लागेर बाहिरिएको थियो। निकै नै अभागी रहेको बुटवलको टोलीले खेलको पहिलो हाफमा पनि ‘सिटर’ मौकामा गोल गर्न चुकेको थियो।

आजको खेलमा ‘म्यान अफ दि म्याच’ ललितपुरका गोलरक्षक अर्पण कार्की घोषित भए। बुटवललाई खेलमा फर्किन नदिन उनले उत्कृष्ट बचाउहरु गरेका थिए। अर्पणले २५ हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै खेलको अस्सिस्टकर्ता मिक्चेन् तामाङ ‘इमर्जिङ प्लेय’र चुनिए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

यस जितसँगै ललितपुर सिटी एफसीले भोलि बिहीवार काठमाडौं रेजर्स एफसीसँग क्वालिफायर दुईमा प्रतिस्पर्धा गर्नेछ। समुह चरणको पहिलो खेलमा यी दुई टोलीले ‘भ्याली डर्बी’ खेलेका थिए। उक्त खेलमा काठमाडौं १-० गोलले विजयी भएको थियो।

फाइनलमा स्थान पक्का गरिसकेको धनगढी एफसीले भोलिको विजेतासँग जेष्ठ १ गते एनएसएलको फाइनल खेल खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?