सकियो जसपा शीर्ष नेताहरुको बैठक, के भयो निर्णय ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधवार भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे बिचारहरु आएको नेता डा. बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले भोलि बिहीवारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । बुधवारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकिकृत निर्णय गरिने उनले बताए ।

उनले भने “हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोली अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शिर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौ र भोली सम्म्म एकीकृत बिचार बनाउने प्रयासमा हामी छौ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौ । अहिले निष्कर्षमा पुगिसकेका छैनौ । भोली सम्ममा निष्कर्षमा पुग्छौ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडी बढीरहेका छौ ।”

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई एकसाताको समय दिनुभएको थियो । सो समय भोली सकिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?