कञ्चनरुप नगरपालिकामा संक्रमितको घरघरमै मेयर

RSS
0
Shares

काठमाडौं । कञ्चनरुप नगरपालिकाले नगरपालिकाभित्र रहेका सङ्क्रमितको घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्नथालेका छन् । नगर कार्यपालिकाको निर्णयअनुसार नगरप्रमुख वसन्त मिश्रको नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीसहित सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुग्न शुरु गरेका हुन् ।

होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्य गरी नगरप्रमुख मिश्रले हेल्थ किटसमेत वितरण गरेका नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष राजकुमार साहले बताए ।

नगरप्रमुख मिश्र, प्रवक्ता साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, विपिन झा, मुरारी कटुवालसहित सङ्क्रमितको घरमा मङ्गलवार र आज पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नाका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको छ ।

प्रवक्ता साहका अनुसार वडा नं ८ का १७ र वडा नं ९ का तीनजना होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई हेल्थ किट वितरण गरिएको छ । हेल्थ किटमा रु एक हजार बराबरको औषधि रहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य शाखाले सचेत भई काम गरिरहेको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत यादवको भनाइ छ ।

जिल्लामा सबैभन्दा पहिले ३० शैयाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले समस्यामा परेका नागरिकको सेवा गरी सङ्क्रमितलाई निको पार्न सक्दो सहयोग गर्ने नगरप्रमुख मिश्रले बताए । नगरभित्रका नागरिकलाई सुरक्षित राख्न र कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न नगरपालिका सचेत रहेको नगरप्रमुख मिश्रको भनाइ छ ।

कोरोना प्रकोपको विषम परिस्थितिमा कठिन समय बिताइरहेका सङ्क्रमितले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुशी व्यक्त गरेका छन् । जनप्रतिनिधिले ल्याएको सहयोगभन्दा पनि उनीहरूको उपस्थितिले निकै ठूलो हौसला मिलेको अनुभव एक सङ्क्रमितले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?