चीनद्वारा बंगलादेशलाई पाँच लाख डोज खोप अनुदान

लोकपथ
234
Shares

ढाका । चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधवार बिहान राजधानी ढाका ल्याएको हो ।

चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिडविरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गर्नु भएको थियो । बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।

बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?