ला-लिगा : एथ्लेटिको मड्रिडविरुद्ध रियल सोसिड्याड, उपाधि दाउमा

काठमाडौं ।  स्पेनिश ला-लिगामा बिहीवार एथ्लेटिको मड्रिड र रियल सोसिड्याड प्रतिस्पर्धा गर्दै छन्। राति १:४५ बजे खेलिने उक्त खेलले एथ्लेटिको मड्रिडको उपाधि यात्रालाई आकार दिनेछ।

लगातार ३ ‘अवे’ खेल खेलेर घरेलु मैदान फर्किएको एथ्लेटिको मड्रिडलाई आजको खेलमा जित अपरिहार्य छ। ३५ खेलमा ७७ अंकसहित शीर्ष स्थानमा रहेको एथ्लेटिकोको लागि जितको नतिजा बाहेक अरु विकल्प छैन।

वर्षौं पछि ला-लिगाको उपाधि होड यति रोमाञ्चक बनेको छ। ३६ खेलमा ७६ अंकसहित दोस्रो स्थानमा रहेको बार्सिलोना र ३५ खेलमा ७५ अंकसहित तेस्रो स्थानमा रहेको रियल मड्रिडले निरन्तररूपमा एथ्लेटिकोलाई पछ्याई रहेका छन्। यी दुई टोलीले बनाएको दवावका कारण एथ्लेटिकोलाई उपाधि रेस निकै कठिन भएको छ।

यसैबिच सन् २०१४ मा पछिल्लो ला-लिगाको उपाधि जितेको एथ्लेटिकोलाई रियल सोसिड्याडको नाममा ठूलो चुनौती आएको छ। गत महिना ‘कोपा डेल रे’को उपाधि जितेको सोसिड्याडको टोली अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।

आफ्नो २०० औं लिग खेल खेल्न गइरहेका सोसिड्याडका कप्तान मिकेल ओयरजबाल आजको कीर्तिमानी खेलमा जित निकाल्ने उद्धेश्यका साथ मैदानमा उत्रने छन्।

त्यस्तै एथ्लेटिकोका लागि आफ्नो ५०० औं खेल खेल्न गइरहेका कप्तान कोकेका लागि पनि यस्तो ऐतिहासिक दिनमा हार पक्कै मन्जुर हुने छैन।

एथ्लेटिको मड्रिडको उपाधि रेसले कस्तो आकार लिनेछ भन्ने कुराको उत्तर आजको खेलले आफैं दिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?