सिरी-ए : लय खोज्दै गरेको युभेन्टसलाई सासुओलोको कठिन परीक्षा

काठमाडौं ।  इटालियन ‘सिरी-ए’को उपाधि इन्टर मिलानले जितिसकेको छ। तर ‘सिरी-ए’को उत्साह र रोमाञ्चकतामा भने केही कमि आएको छैन।

साविक विजेता युभेन्टस यस सिजन निरिह देखिएको छ। ३५ खेलमा ६९ अंक जोडेको युभेन्टसको टोली ‘टप ४’ मा समेत छैन। लिगमा मात्र ३ खेल बाँकि रहँदा अर्को सिजनको च्याम्पियन्स लिग फुटबल युभेन्टसको भाग्यमा छ छैन भन्ने कुरा पनि अन्योलमै छ।

युरोपियन सुपर लिग संगको संलग्नता, बुफोनको राजीनामा, रोनाल्डोले क्लब छाड्ने हल्ला जस्ता धेरै कुराले युभेन्टस पीडित देखिएको छ। त्यसमाथि पछिल्लो खेलमा एसी मिलानसंगको हारले त मानौँ युभेन्टसको तालमेल नै बिगारेको अवस्था छ।

यसै बिच युभेन्टसले बिहीवार मध्यरातको खेल खेल्न सासुओलोको भ्रमण गर्दैछ। अंक तालिकामा ८औं स्थानमा बलियो देखिएको सासुओलो अर्को सिजन युरोपेली फुटबल खेल्ने दाउमा छ। युरोपा लिगको स्थानबाट मात्र दुई अंक तल रहेको सासुओलोले पछिल्ला ५ खेलमा ४ जित निकालेको छ। बाँकि रहेको १ खेलमा पनि सासुओलोले तेस्रो स्थानमा रहेको एटलान्टासँग १-१ को बराबरी नतिजा निकालेको थियो।

गत जनुवरीमा यी दुई बिच खेलिएको खेलमा भने युभेन्टसले नतिजा आफ्नो पक्षमा निकाल्न सफल भएको थियो। तर यो चार महिनाको अन्तरालमा धेरै कुरा बदलिएका छन्।

के युभेन्टसले सासुओलो विरुद्ध जितको स्वाद चाख्न पाउनेछ? खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?