कौशीमै फल्छ लटरम्मै तरकारी

काठमाडौं – कोरोना भाइरसको दोस्रो लहरका कारण यतिबेला निषेधाज्ञा जारी छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको सहारा लिएसँगै मानिसहरु पहिलो चरणमा जस्तै घरमा नै बस्न बाध्य भए।

कोरोनाको कहर बढेका कारण धेरै मानिसहरुमा स्वास्थ्य चेतना बढ्दै गएको छ। अर्को कुरा लकडाउन र निषेधाज्ञाका कारण पनि घरमा बस्न बाध्य भएका मानिसहरुले समयको सदुपयोग गर्न थालेका छन्। अहिले घरमा बसेका मानिसहरु कौशी खेतीमा आकर्षित भएका छन्।

उनीहरु कौशी खेतीमा रमाइरहेका छन् । घरमा दिन बिताउन गार्‍हो भएपछि उनीहरुले घरको छत, कुना काप्चामा होस् वा कतै खाली ठाउँमा तरकारी लगाउन थाले। लकडाउनका कारण बजार बन्द भएको र विषादी मिसाइएको तरकारी खानुपर्ने बाध्यताका कारण मानिसहरु कौशी खेतीतर्फ आकर्षित हुँदै गएका छन्। साथै स्वाथ्यप्रति आम मानिसले विशेष ध्यान दिन थालेका छन्। परिणामस्वरुप अहिले शहरी क्षेत्रमा कोशी खेती सबैले गर्न थालेका छन्। पहिलो चरणको लकडाउन लागू भएसँगै तारकेश्वर मनमैजुकी सुजता अधिकारीले कौशीमा फूल, तरकारी र फलफूल लगाइन् । एउटा फूल रोपेर कौशी खेती शुरु गरेकी सुजता अहिले छतभरी फूल, फलफूल र तरकारी लटरम्म हुँदा दंग परेकी छिन्। अहिले कौशीमा अम्बा, बोडी, सीमी लगायतका विभिन्न तरकारी फलेका छन्। यसरी कौशीमा तरकारी फलेपछि सुजताको मुहारमा खुशी छाएको छ। उनले छतभरी तरकारी फलाएको देखेर छिमेकीले पनि आफ्नो छतमा तरकारी फलाएको उनले बताईन्।

बजारबाट ल्याइने तरकारी र कौसी खेतीमा उत्पादन हुने तरकारीको स्वाद निकै फरक हुने उनले अनुभव सुनाईन्। कौशी खेतीबाट उनलाई समय बिताउन सहज भएको छ।

लकडाउनमा समय विताउन उनले कौशी खेती सुरु गरेकी हुन् । तर कौशी खेतीबाट सोचेको भन्दा पनि फाईदा भएपछि उनले अरुलाई पनि कौशी खेती गर्न सल्लाह दिएकी छन् । यसरी तरकारी फलाउँदा अर्गानिक र विषादीरहित तरकारी खान पार्इने उनको भनाई छ । उनलाई अर्कै रमाईलो लाग्ने पक्ष भनेको घरको फोहोर व्यवस्थापन पनि हो। भान्साबाट निस्कने फोहोरले नै उनलाई तरकारी फलाउन मलको काम गरेको छ । उनी भन्छिन्, आफैले तरकारी रोप्दा विषादीरहित गुणस्तर हुने रहेछ । लकडाउनका कारण घरमै बस्ने बाध्यताका कारण पनि कौशी खेतीको क्रेज बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?