बाग्मती प्रदेशमा एकै दिन ३४ जना कोरोना संक्रमितको मृत्यु

RSS
196
Shares

काठमाडौं । बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई र दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक र एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

बाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौं दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

बाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?