बुफोनले ‘फेरि’ युभेन्टस छाड्ने

काठमाडौं । वर्ल्ड कप विजेता गोलरक्षक जियानलुइगी बुफोनले यस सिजनको अन्त्यमा युभेन्टस छाड्ने भएका छन्। सन् २००१ देखि २०१८ सम्म युभेन्टसका लागि ४८० पटक गोलकिपिङ गरेका बुफोनले सन् २०१८ मा पनि युभेन्टस छाडेका थिए।

च्याम्पियन्स लिग फुटबलको उपाधि पछ्याउँदै पीएसजी पुगेका बुफोन एक वर्ष पछि नै फेरि युभेन्टस फर्किएका थिए। सन् २०१९ देखि अहिले सम्म युभेन्टसको लागि बुफोनले फेरि ३१ चोटी खेलिसकेका छन।

४३ वर्षीय भेट्रान बुफोन विश्वका उत्कृष्ट गोलकिपर मध्येका एक हुन्। मंगलवार उनले युभेन्टससंगको यात्रा टुंग्याउने सूचना सार्वजनिक गरेका हुन्। तर उनले खेलबाटै सन्यास लिने हो कि होइन भन्ने कुरा अझै निश्चित छैन।

सन् २००१ मा पार्माबाट युभेन्टस आएका बुफोनले युभेन्टससँग १० सिरी-ए उपाधि जितेका छन्।

उनले राष्ट्रिय टोली इटालीका लागि कीर्तिमानी १७६ क्याप प्राप्त गरेका छन् भने सन् २००६ को विश्व कप पनि जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?