काठमाडौं । दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलवारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।
अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए । उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।
“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उनीहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा पौडेलले भने । उनेका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शैया थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।
जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण
तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।
हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुनसक्छ, त्यही भएर पूर्वतयारीस्वरूप हामीले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौँ”, थापाले भने ।
गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुईपटक सूचना आह्वान गरेको थियो तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्यौँ, तर एम्बुलेन्स नै पाइएन”, उनले भने । कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शैयाको आइसोलेशनसमेत तयार पारिसकेको छ । आइसोलेशनमा हाल १० थान अक्सिजन सिलिण्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको १० थान सिलिण्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ”, थापाले भने ।
क्विक रेस्पोन्स टिम गठन
तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार सदस्यीय टिम गठन गरेको हो ।
टिमको सदस्यमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी रहेका छन् । आइतवार भानु नगरपालिकाका एक वृद्धले समयमै उपचार नपाएर दमौली अस्पतालबाहिर एम्बुलेन्समै ज्यान गुमाउनुपरेपछि अस्पताल र प्रशासनको आलोचना हुँदै आएको छ ।
बैठकले दमौलीमा रहेको कृषि विकास बैंकको पुरानो भवनमा होमआइसोलेशनमा बस्न स्थान नभएका विपन्न व्यक्तिका लागि स्वास्थ्यकर्मी र अक्सिजनको सुविधासहित व्यास नगरपालिकाले सामूहिक आइसोलेशन सेन्टर सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य सामग्री र औषधिको प्रबन्ध गर्ने, प्रत्येक स्थानीय तहले सङ्क्रमितको मृत्यु भएको खण्डमा शव व्यवस्थापन गर्न आवश्यक पर्ने सवारी साधन, शववाहन, पिपिइलगायतका सामग्री व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
होम आइसोलेशनमा र स्वास्थ्य संस्थामा रहेका सङ्क्रमितसँग स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई निरन्तर सम्पर्कमा राख्ने, सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग समन्वय गर्ने, सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाका आधारमा सङ्क्रमितको उपचार प्रबन्ध मिलाउने, सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा अस्पतालका विशेषज्ञ चिकित्सकले पठाउनुपर्ने अस्पतालसँग समन्वय गर्ने निर्णय भएको छ ।
त्यसैगरी स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होमआइसोलेशन र क्वारेन्टाइनको अनुगमनमा जिम्मेवार बनाउने निर्णयसमेत भएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया