एनएसएल : पूर्वका खेलाडी चम्किँदा सुदुरपश्चिमको धनगढी फाइनलमा

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेश गर्ने पहिलो टोली धनगढी एफसी बनेको छ। झापाका विशाल राई र काकडभिट्टाका पुजन उपर्कोटीले गोल गर्दै सुदुर पश्चिमेली टोली धनगढीलाई पहिलो संस्करणको एनएसएल फाइनलमा पुर्याएका छन्।

दशरथ रंगशालामा भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्स एफसीलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै धनगढी एफसी फाइनलमा पुगेको हो।

पहिलो हाफको खेल बराबरीमा सकिएपछि दोस्रो हाफमा काठमाडौंले अग्रता लिन पुग्यो। खेलको ७५ औं मिनेटमा काठमाडौंका उप-कप्तान तेज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

काठमाडौंको अग्रता धेरै बेर भने टिक्न सकेन। कप्तान विकेश कुथुले ‘सेट पिस’ जज गर्न नसक्दा पुजन उपर्कोटीले उत्कृष्ट ‘ओभर हेड’ गोल गर्न सके। उनको शानदार गोलले ७८ औं मिनेटमा धनगढी खेलमा फर्कियो।

निर्धारित ९० मिनेटको खेलमा नतिजा नआएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा धनगढीका प्रशिक्षक तोपे फुजाले अप्रत्याशित खेलाडी परिवर्तन गरे। स्ट्राइकर ओलावाले अफिजको स्थानमा उनले डिफेन्डर रमेश दंगाललाई अग्रपंक्तिमा पठाए।

तर यो निर्णय सुनौलो सावित भयो। दंगालको असिस्टमा धनगढीका मार्की प्लेयर विशाल राईले सहज तर शानदार गोल गर्दै जित आफ्नो टोलीको पोल्टामा पार्न सफल भए। खेलको १०८औं मिनेटमा विशालले धनगढीलाई अग्रता दिलाउन सफल भएका थिए।

यस जितसँगै धनगढी फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ। काठमाडौं भने प्रतियोगिताबाट बाहिरी सकेको छैन।

बुधवार खेलिने दोस्रो प्लेअफ खेलको विजेतासँग काठमाडौंले बिहीवार अर्को क्वालिफायर खेल्ने छ।

बुधवार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?