पत्रकार महासंघ काभ्रेद्धारा कोभिड–१९ आपतकालीन राहत कोष स्थापना

काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ काभ्रेले ‘कोभिड–१९ आपतकालीन राहत कोष’को स्थापना गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरमा रहेर अग्रपंक्तिमा खटिने र संक्रमित पत्रकारका लागि महासंघले ५ लाखको राहत कोष स्थापना गरेको हो ।

कोरोना महामारीको समयममा अग्रपंक्तिमा खटिने पत्रकारका लागी राहत मिलोस भन्ने उद्देश्यले पत्रकार महासंघ काभ्रेका बद्रिराज तिमल्सिनाले १० हजार रुपैयाँ रकम जम्मा गरी सो कोषको सुरुवात गरेका छन् । महामारीको अवस्थामा कोरोनाले पर्ने कुनैपनि असहज परिस्थतिमा पत्रकारहरुलाई थोरै भएपनि राहतको महसुश गराउन सकियोस् भन्ने उद्देश्यले महासंघले राहत कोषको स्थापना गरेको अध्यक्ष बद्रिराज तिमल्सिनाले बताए ।

शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारका लागि स्थापना गरिएको सो कोष महासंघको मातहतमा सञ्चालन हुने बताइएको छ । कोषमा जम्मा भएको रकमबाट कार्यविधि बनाएर पीडित पत्रकारलाई आवश्यक अनुसारको सहयोग गरिने अध्यक्ष तिमल्सिनालको भनाई छ ।

कोष स्थापनासंगै रकम सहयोग स्वरूप प्राप्त हुन सुरु भएको पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइरालाले जानकारी दिए । पत्रकार महासंघ काभ्रेले अन्य दातासँग समेत आपतकालीन राहत कोषमा सहयोगका लागी आव्हान गरेको छ ।

सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, काभ्रेको बैंक खाता रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिलेट, धुलिखेल शाखामा खाता नम्बर १०४०१००००७२०२००१ म रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?