कोरोना संकटमा राष्ट्र बैंक : के-के ल्याउला राहत प्याकेज ?

लोकपथ
208
Shares

कमला अर्याल/काठमाडौं –

गत वर्ष कोरोना संकटमा परेका ऋणीलाई राहत प्याकेज ल्याएर प्रशंसा बटुलेको नेपाल राष्ट्र बैंकले यसपटक कस्तो प्याकेज ल्याउला भन्ने कौतुहलता सर्वत्र छाएको छ।

गत वर्ष राष्ट्र बैंकले कोरोनाले क्षति  पुर्‍याएका ऋणीलाई तीन वर्ग (अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित)मा वर्गिकरण गरी राहत प्याकेज ल्याएको थियो । जसले गर्दा ऋणीले ठूलो राहत महशुस गरेका थिए । पीडितलाई उचित समयमा राहत दिएका कारण राष्ट्र बैंकको निकै प्रशंसा भएको थियो ।

कोरोनाले पु-याएको क्षतिको पूर्ति हुन नपाउँदै अर्थात् व्यापार व्यवसायले पूर्ण रुपमा लय समात्न नपाउँदै पुनः कोरोनाको दोस्रो लहर शुरु भएको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै सरकारले ६७ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जसका कारण व्यापार व्यवसाय ठप्प छ । काम ठप्प भएपछि ऋणीलाई कसरी बैंकको ऋण तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ।

बैंकको किस्ता र ब्याज तिर्ने समय असार मसान्त पनि नजिकिँदैछ । तर व्यापार व्यवसाय  भने ठप्प छ। यस्तो अवस्थामा ऋणीहरुले राष्ट्र बैंकको मुख ताक्न थालेका छन् । राष्ट्र बैंकले बजेटपछि मौद्रिक नीति ल्याउने भएकाले मौद्रिक नीतिमार्फत् राहतका कस्ता प्याकेज ल्याउला भनेर राष्ट्र बैंकको मुख ताक्नुको विकल्प छैन। यसअघि विभिन्न व्यवसायिक संगठनहरुले कर तिर्ने समय थप गर्न सरकारसँग माग गरिसकेका छन्।

त्यस्तै, व्यवसाय ठप्प भएकाले ऋणको व्याजमा पनि छुट मागिरहेका छन्। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले  व्याज  छुट दिनुपर्ने माग गरे। ‘उद्योग व्यवसाय ठप्प छन, ऋणको व्याजमा छुट दिनुपर्छ ।’ उपाध्यक्ष श्रेष्ठले भने।

कोरोना संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि देशैभरी लकडाउन गरेको थियो। लकडाउनका कारण सम्पूर्ण उद्योग, व्यवसाय पूर्ण रुपमा बन्द थिए । बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब भन्दा बढी तरलता (लगानी योग्य रकम )थुप्रिएको थियो। तर लगानी हुन सकेको थिएन ।

उद्योग व्यवसाय क्षेत्रले कारोबार ठप्प भएका कारण बैंकको किस्ता र ब्याज तिर्नै नसक्ने अवस्थामा पुगे । सरकारले बजेट मार्फत् केही राहतका प्याकेज ल्याएको थियो । तर मौद्रिक नीतिले भने ऋणीको घाउमा मल्हम लगाउने राहत प्याकेज ल्याएकाले राष्ट्र बैंकको ठूलो प्रशंसा भएको थियो।

राष्ट्र बैंकले ऋणीलाई ब्याज भुक्तानी गर्दा १० प्रतिशत छुटको सुविधा दिनुका साथै ऋण तिर्ने समय समेत थप गरेको थियो । जुन वेला राष्ट्र बैंकको गभर्नरको पद खाली थियो । गभर्नरका रुपमा महाप्रसाद अधिकारी भित्रिएपछि उनले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत् २ प्रतिशतले बिन्दुले ऋणको ब्याज दर घटाउने निर्णय गरेका थिए । गभर्नर अधिकारीको सो कदमले कोरोनाको चपेटामा परेका ऋणीलाई ठूलो राहत भएको थियो ।

त्यस्तै, राष्ट्र बैंकले ऋणीलाई ऋणको पुनर्संरचना, पुनर्तालिकीकरण तथा समय थप लगायतका विभन्न सुविधाको व्यवस्था गरेको थियो । त्यस्तै, ऋण तिर्न नसक्ने उद्योग व्यवसायीका लागि पुर्नकर्जाको व्यवस्था गरेर राष्ट्र बैंकले पिडित ऋणीलाई हदैसम्म राहत दिएको थियो ।

कस्तो छ राष्ट्र बैंकको तयारी

कोरोना संक्रमणको दोस्रो लहर कहिलेसम्म जान्छ भन्ने यकिन छैन । साथै, दोस्रो लहरले कति क्षति गर्छ भन्ने पनि यकिन छैन । त्यसैले तत्काल राष्ट्र बैंकले यस विषयमा कुनै गृहकार्य गर्न सकेको छैन। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कोरोनाको ग्राफका कारण अन्योल भएको बताए । ‘हामी अहिले अलि कन्फ्युज्ड छौँ ।’ उनले भने । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा छलफल पनि गरेको छैन । अहिले सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले आगामी जेठ १५ गत बजेट सार्वजनिक गर्दैछ । त्यसपछि मात्रै राष्ट्र बैंकले मौद्रिक नीति र त्यसले ल्याउने राहत प्याकेजका विषयमा निर्क्यौल गर्नेछ।

सरकाले बजेट सार्वजनिक गरेपछि बजेटलाई सहयोग  पुर्‍याउने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । त्यसैले राष्ट्र बैंकले बजेटको प्रतिक्षा गरिरहेको छ । ‘पहिले बजेट आओस्, त्यसपछि मात्रै केही भन्न सकिएला ।’ डेपुटी गभर्नर मिश्रले भने ।

कोरोनाले पु-याएको क्षतिका बारेमा सरकारले के कस्ता व्यस्था गर्छ, त्यसैलाई आधार मान्दै मौद्रिक नीतिले राहतको व्यवस्था गर्ने उनकोे भनाई छ। ‘त्यस्तै वित्तीय नीतिलाई पच्छ्याउँदै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ ।’ उनले थपे । त्यसैले तत्काल मौद्रिक नीतिमा के कस्ता व्यवस्था आउँछन् भन्न सक्ने अवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?