जारी छ ‘एक पत्रकार एक ल्यापटप अभियान’

RSS
63
Shares

बलेवा । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुवात गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ ।

शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमवारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

अभियानमा हालसम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको उनले थप २० जनाले ल्यापटप खरीदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाएको बताए।

“नयाँ नेतृत्वले ल्याएको एक पत्रकार एक ल्यापटप अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभारम्भ गरी शाखाको स्थापना दिवसका अवसरमा आगामी असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ”, उनले भने, “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशीलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्षसम्म चलाइने र अभियानको कूल खर्च रु ७० लाख रहेको छ ।

‘घर पछिको रहरः सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएसँगै करीब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने आर्थिक सङ्कलन भएको छ । पत्रकार महासंघले यसअघि ‘हामी सबैको रहरः पत्रकार महासङ्घको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।

कोभिड–१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा सावधानीपूर्वक प्रविधिको प्रयोग गर्दा सहज हुने भएकाले एक पत्रकार एक ल्यापटप अभियान चलाइएको छ ।

पत्रकारलाई प्रविधिले निकै खर्चिलो बनाउँदै लगेका कारण पत्रकार महासङ्घले पत्रकारहरुलाई प्रविधि मैत्री बनाउने अन्य उपकरणसमेत प्रदान गर्ने लक्ष्य राखेको छ ।

पत्रकारलाई क्यामेरा, ल्यापटप, कम्प्युटर, हार्ड डिक्स, मेमोरी कार्ड, मोबाइल वाइफाइ, इन्टरनेट तथा पेनड्राइभ अति आवश्यक वस्तु भए पनि कतिपय पत्रकारहरुले आर्थिक अवस्था कमजोर र न्यूनतम पारिश्रमिक नपाउँदा खरीद गर्न समस्या हुने गरेको छ ।

अभियानको शुरु भइसकेपछि पूर्वअध्यक्ष नारायणदत्त कँडेल, पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, पत्रकार महासङ्घ धौलागिरि शाखाका पूर्वउपाध्यक्ष दीपक गौतम र पत्रकार महासङ्घका साधारण सदस्य श्रीधर कँडेलले ५० हजारका दरले रकम सहयोग गरेको शाखाले जनाएको छ ।

यस्तै शाखाको अध्यक्ष कँडेलले आफूलाई कोरोना बीमाबापत आएको रकममध्ये ५५ हजार ५५५ एक पत्रकार एक ल्यापटप अभियानमा सहयोग गर्नुभएको छ । उनका अुसार रोजगारीका लागि विभिन्न देशमा रहेका शुभेच्छु तथा व्यावसायिक व्यक्तिहरु झण्डै २० जनाले ल्यापटप खरीदका लागि रकम पठाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?