यता बेड र अक्सिजनको हाहाकार, उता कुर्सीको तानातान (भिडियो रिपोर्ट)

काठमाडौं-  केही दिन यता पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ को घटना सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। घटनास्थलमा स्थानीय मात्रै होइन त्यहाँका वडाध्यक्ष दिलबहादुर खत्री, नगरपालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेललगायत पनि थिए । तर, कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान न एम्वुलेन्सको ब्यवस्था भयो न त अरु कुनै सवारीसाधन नै ।

सवारीसाधनको ब्यवस्था नभएको मात्रै कहाँ हो र ? आमाछोराले सकीनसकी विरामीलाई ट्याक्टरमा राखिरहँदा समेत अरु रमीता हेरेर बसे । बिरामीका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हारगुहार मागे तर कसैले पनि सहयोग गरेनन् । बिरामीको घर र अस्पताल करिव डेढ किलोमिटर मात्रै टाढा छ । तर जनप्रतिनिधिको समेत साथ नपाउँदा संक्रमितले अकालमै ज्यान गुमाए ।

यस्तै कोरोना संक्रमित भएर समयमा उपचार नपाउँदा बुटवलमा एक जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु भयो  । अस्पताल चहार्दै ज्यान गुमाउने जनप्रतिनिधि हुन् बुटवल उपमहानगरपालिका ७ का वडा सदस्य नवीन थापा मगर । थापालाई गत शुक्रबार राति बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ बेड नपाएपछि क्रिमसन अस्पताल मणिग्राम, भिम अस्पताल हुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्‍याइएको थियो । तर मेडिकल कलेजमा पनि उनले उपचार सेवा पाएनन् । र, उनले एम्बुलेन्समै मृत्युवरण गरे ।

जिल्लाको कुरा मात्रै होइन दर्शकवृन्द्ध काठमाडौं उपत्यकाकै अवस्था पनि उस्तै छ । शुक्रवार अक्सिजनको अभावमा भक्तपुर इन्टरनेसनल नेपाल अस्पतालमा दुई जना कोरोना संक्रमितले ज्यान गुमाए। अस्पतालमा रहेको अक्सिजन सकिन लागेपछि प्रशासनले अन्यत्र लैजान भनेको थियो । तर, आफन्तले अन्य अस्पतालमा बेड र अक्सिजन खोज्दा खोज्दै विरामीले मृत्युवरण गर्नुपर्‍यो ।

मुलुकमा कोरोनाको महामारी चलिरहेको छ । कोरोना संक्रमितले दिनँहु नयाँ रेकर्ड बनाईरहेको छ । संक्रमितको संख्या बढेसँगै समाजमा त्रास बढेको छ । अस्पतालमा अक्सिजन र बेडको अभाव हुन थालेको छ । तर, जनप्रतिनिधि र नेताहरु भने कुर्सीकै तानातान गरिरहेका छन् ।

प्रस्तुत छ, यसै विषयमा केन्द्रित भिडियो रिपोर्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?