धनगढी, टेकसिँह धामी । सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो ।
दोस्रो लहरको फैलिदो कोरोना एवम् कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ । जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिर्ता मागेको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘हामीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर मागेका थियौं । जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार गर्दा ४ जिल्ला अस्पतालले दिन्छौं भनेका छन् । तर अहिलेसम्म आएका छैनन् ।’ फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उनले बताए ।
पहाडका ६ जिल्ला अस्पताललाई १०-१० बेडको आइसियू र २-२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो । प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २–२ भेन्टिलेटर छन् । तर प्रयोगमा छैनन् । उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको जिल्ला अस्पतालले जनाएका छन् ।
हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन्।
मौलिक जरोकिलोको आपत्ति :
मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको कुराप्रति आपत्ति जनाएको छ ।
प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय भएको पार्टीको ठहर छ ।
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले लोकपथसँग भने,‘कोरोना संक्रमणको महाव्याधीअघि पर्याप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुंडी समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय गरेको हाम्रो पार्टीको ठहर छ ।’
कोरोना संक्रमण समुदायमा फैलिँदै गएको हुँदा अत्यावश्यक जनशक्ति र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा उल्टै भेन्टिलेटर फिर्ता लैजानु मुर्खतापूर्ण कार्य भएको पार्टीका जोशीले बताए ।
पहाडका जिल्ला अस्पतालहरूबाट भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउँदै आवश्यक जनशक्तिको व्यवस्था गर्न पार्टीले माग गरेको छ ।
अक्सिजन प्लान्ट स्थापनो ८० लाखका दरले रकम प्रदान :
सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन प्रदेशका जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ ।
८० लाख रूपैयाँका दरले जिल्ला अस्पताललाई रकम उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइ सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालहरुलाई पठाएको जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रियासमेत शुरू गरिसकेको लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया