सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् ।

बिहीवार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रवार दिउँसो पदभार ग्रहण गरेका हुन्।

यादवले शुक्रवार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताएका छन् ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी थिए । खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेका कारण डोटीमा रहेकाले प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागी हुन नसकेको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?