धनगढी उप-महानगरले रोक्यो स्वाब संकलन, ल्याबको क्षमता कम हुँदा समस्या

धनगढी । धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाब संकलन रोकेको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन भएपछि उप–महानगरपालिकाले ३ दिनका लागि नयाँ स्वाव संकलन रोकेको हो ।

सेती प्रादेशीक अस्पतालले स्वाबको नमुना क्षमता भन्दा धेरै संकलन भएकाले ३ दिनका लागि स्वाब संकलनको काम रोक्न धनगढी उप–महानगरपालिकासँग आग्रह गरेको अस्पतालले जनाएको छ ।

सेती प्रादेशीक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाले स्वाब संकलन रोक्न भनेपछि शनिवार, आईतवार र सोमवारका लागि नयाँ स्वाब संकलनको काम रोकेको धनगढी उप–महानगरपालिका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

मंगलवारबाट नयाँ स्वाब संकलनको कामलाई निरन्तरता दिने बताउँदै फोकल पर्सन उपाध्यायले भने, ‘हामीले लक्षण देखिएका र कन्ट्रयाक ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणका लागि निशुल्क स्वाब संकलन गरिरहेका छाँै, त्यसको परीक्षण सेती प्रादेशीक अस्पतालले गर्छ । हाल क्षमता भन्दा बढी स्वाब संकलन भएपछि केहि दिनका लागि स्थगन गरिएको हो । संकलन गरिएको सबै नमुनाको परीक्षण सकिएपछि धनगढी उप–महानगरपालिकाले पुनः निशुल्क स्वाव संकलन गर्छ ।’

तर सेती प्रादेशिक अस्पतालमा भने संकलन जारी रहने जनाईएको छ ।

नगरवासीलाई सुविधा, निशुल्क स्वाब संकलन

फोकल पर्सन लक्ष्मीराज उपाध्यायले नगरवासीको सजिलोका लागि सर्वसधारणलाई निशुल्क स्वाब संकलन तथा पीसीआर परीक्षण गर्ने सुविधा प्रदान गरिएको बताए । उनले सुदूरपश्चिमको एकमात्र स्थानीयतह धनगढी उपमहानगरले मात्रै उक्त कार्य गरेको दाबी गरे ।

उपमहानगरले एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेको बताउदै उपाध्यायले भने, ‘स्वाबको नतिजा सेती प्रादेशिक अस्पतालले उपलब्ध गराउने भएकाले नतीजामा ढिलाई भएको गुनासो आउने गरेको छ । यसका लागि बिकल्प खाजिरहेका छौ ।’

उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्द्रबाट स्वाव संकलन गरिरहेको छ ।

कोरोना संक्रमणदर बढेसँगै स्वाब दिनेको संख्यासमेत अत्यधिक बढेको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाको स्वाव परीक्षण क्षमता दैनिक ४ देखि ५ सय हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न सुदूरपश्चिम सरकारले दियो रकम

अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ । ८० लाख रूपैयाँका दरले जिल्ला अस्पतालहरुलाई रकम उपलब्ध गराएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशभित्रका ६ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाखका दरले रकम उपलब्ध गराइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालहरुलाई पठाइएको जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रियासमेत सुरू गरिसकेको बताए ।
सुदूरपश्चिममा अहिले दैनिक पाँच सय वटा अक्सिजन भरिएका सिलिन्डर आवश्यक परेको छ । तर प्रदेशमा तीन सय सिलिन्डर मात्रै अक्सिजन उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?