जोसे माउरिन्हो : ‘दि ट्रान्सलेटर’ देखि ‘दि स्पेशल वान’ सम्मको यात्रा

आर्जव घिमिरे/काठमाडौं।  ए.एस. रोमाका नयाँ मुख्य प्रशिक्षक जोसे माउरिन्होले पछिल्ला केही समयमा खासै सफलता पाएका छैनन्। तर उनको ‘दि स्पेशल वान’सम्मको यात्रा केलाउन लायक छ।

सन् १९९६/९७ सिजनको कुरा हो, ला-लिगा टोली एथ्लेटिक बिलबाओका मुख्य प्रशिक्षक थिए लुइस फर्नान्डेज। उही फर्नान्डेज जो पीएसजीसँग उपाधि जित्ने पहिलो फ्रान्सेली प्रशिक्षक बनेका थिए। तसर्थ फर्नान्डेजले ला-लिगामा त्रास फैलाएका थिए। अन्य टोली बीलबाओ यात्रा गर्न हिच्किचाउँथे। यो चाँहि किन भने फर्नान्डेजको अन्दाज बेग्लै थियो। उनी मैदान भित्र र बाहिर अग्रेसिभ स्वभावका थिए। टचलाइनमा उनको हाउभाउ अतुलनीय थियो। यसै बिच बार्सिलोनाको टोलीले बीलबाओको यात्रा गर्यो। बार्साका नयाँ प्रशिक्षक थिए बबी रबसन।

रबसन र फर्नान्डेजको स्वभाव विपरीत थियो। रबसन शान्त स्वभावका थिए। टचलाइनमा उनी विपक्षी प्रशिक्षकसँग टकरावमा पर्न मनपराउँदैन थिए। तर त्यो दिन अप्रत्याशित दृश्य देखियो। बार्साको बेन्चबाट फर्नान्डेज सँगसँगै चिच्याउने एउटा व्यक्तित्व देखा परे। उनी रबसन त थिएनन्। उनलाई कसैले पनि चिनेन। तर उनमा यति कन्फिडेन्स थियो कि उनी फर्नान्डेजकै मैदानमा उनीसँग मुखमुखे लाग्दै थिए। बिलबाओका समर्थक पनि यी जवानको साहस देखेर अचम्मित थिए। फर्नान्डेज पनि चकित भएर प्रश्न गरे, “हु आर यु टू स्ट्यान्ड अप टू मी ?”

यो प्रश्नले उल्टै ३३ वर्षीय जोसे माउरिन्होलाई आक्रोशित बनायो। बार्साका सहायक प्रशिक्षक मध्येका एक जोसे माउरिन्हो त्यति बेला त कोहि पनि थिएनन् तर पोर्टो लाई च्याम्पियन्स लिग जिताउनु भन्दा पहिले, चेल्सीमा स्पेशल वान हुनु भन्दा पहिले, रियल मड्रिडका मुख्य प्रशिक्षक हुनु भन्दा पहिले, चेल्सीलाई फेरि लिग जिताउनु भन्दा पहिले र ओल्ड ट्राफोर्डमा अर्को युरोपियन उपाधि ल्याउनु भन्दा पहिले नै उनमा त्यही अहंकार थियो जुन अहंकारले उनलाई व्यवसायीक रूपमा जोसे माउरिन्हो भनेर चिनायो। त्यही अहंकार थियो जसले उनको क्यारियरलाई आकार दियो र त्यति बेला फर्नान्डेजसँग आँखा जुधाएर बोल्ने बहादुरी।

जोसे त्यतिबेला बार्साका प्रशिक्षक बबी रबसनका लागि ट्रान्सलेटरको काम गर्थे र भनौं प्रशिक्षणमा बबीका दाहिने हात थिए।

बबी र जोसे

सन् १९९६ मा माउरिन्होको क्याटालोनियामा आगमन भयो। बबी रबसन जसले पोर्टो र स्पोर्टिङ्गमा चार वर्षको कार्यकाल सम्हालेका थिए, उनका सहायक थिए जोसे। बार्साले भर्खरै योहन क्राईफ जस्ता ठूला व्यक्तित्वलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो र जोसे माउरिन्हो जस्ता अहंकारी व्यक्तित्वलाई क्लबबाट निकाल्न तत्कालीन अध्यक्ष जोसेप नुनेजका लागि कुनै ठूलो कुरा थिएन। उनले यस्तो गर्न चाहेका पनि हुन् तर भाग्यले जोसेलाई अनौठो तरिकाले साथ दियो। इंग्लिश नागरिक बबी रबसनलाई क्याटालन भाषा लेख्न र पढ्न आउँदैन थियो। उता माउरिन्हो पोर्चुगिज, स्पेनिश, इटालियन, फ्रेंच र इंग्लिश सबैमा परिपक्व थिए। त्यसकारण पोर्चुगिज जोसेलाई नुनेजले ‘दि ट्रान्सलेटर’ नामाकरण गरिदिएका थिए।

बबी र माउरिन्होसँग काम गरेका एक वरिष्ठ स्टाफ सदस्य भन्छन्, “उनी ट्रान्सलेटर मात्र थिएनन्, सहायक पनि थिए। हामीले प्रेस कन्फरेन्समा यो कुरा थाहा पायौँ।उनले बबीका शब्दलाई ट्रान्सलेट मात्र गर्दैन थिए। आफ्नै प्रतिक्रिया पनि थपिदिन्थे, बबीको बचावमा पनि बोल्थे, पत्रकारहरुसंग बहस पनि गर्थे, हामीले जोसेलाई रोक्नु पर्थ्यो।” उनले थपे।

सन् १९९२ देखि आफ्नो साथमा रहेका माउरिन्होको तारीफमा बबीले भने, “जोसेको राम्रो इंग्लिश र फुटबलप्रतिको बलियो पृष्ठभूमिले उनी मेरो साथमा छन्। उनी यंग र डाइनमिक व्यक्तित्व हुन्।”

जोसे त्यो भन्दा पहिले एक स्कूलटिचर थिए र उनका पिता व्यवसायिक गोलरक्षक। फेलिक्स माउरिन्हो भिटोरियो सेटुबलका गोलरक्षक थिए र पछि सोही क्लबका प्रशिक्षक पनि भए। जोसेले फुटबल र प्रशिक्षण दुवैको ज्ञान केही हदसम्म घरबाटै हासिल गरेका थिए।

सन् १९९३ मा बबी स्पोर्टिङ्गको प्रशिक्षक थिए र जोसे उनका ट्रान्सलेटर। घरेलु लिगमा स्पोर्टिङ्ग शीर्ष स्थानमा थियो तर युरोपियन कपमा स्पोर्टिङ्गले क्यासिनो साल्जवर्गसंग पराजय भोग्यो। स्पोर्टिङ्गका अध्यक्षले बबीलाई सम्पूर्ण स्टाफको अगाडि बर्खास्त गरिदिए। कन्ट्रयाक्ट उलंघनको रकम पनि बबीले पाएनन्। जोसेलाई यस्तो फोहोरी राजनीति पटक्कै रूचेन र उनी बबीसँगै क्लबबाट निस्किए।

बबी रबसनलाई सन् १९९४ मा पोर्टोको कार्यकाल सम्हाल्ने प्रस्ताव आयो र उनीसँग वफादार रहेका जोसेलाई पनि उनले सँगै लिएर गए। यसपाली भने सहायकको रूपमा।

सन् २००५ मा बबीले जोसेलाई सहायक बनाउनुको कारण बताए। जुन यस प्रकारको थियो, “स्पोर्टिङ्गमा हुँदा मैले जोसेलाई विपक्षी टीमको स्काउटिङको काम अरहाँउथे। जुन जानकारी मैले जोसेबाट प्राप्त गर्थें, त्यो फर्स्ट क्लास हुन्थ्यो। कहिल्यै व्यवसायिक फुटबल नखेलेको र प्रशिक्षणको तालिम नलिएको मान्छेलाई मैले यति विश्वास गर्थें। उनको सुझाव ए-वान हुन्थ्यो।” बबीले थपे।

तर माउरिन्होले व्यवसायिक फुटबल र प्रशिक्षणको तालिम दुबै प्राप्त गरेका थिए। उनको व्यवसायिक फुटबलको यात्रा उनी २३ वर्षको हुँदै अन्त्य भएको थियो। उनले त्यस अघि पोर्चुगलको दोस्रो बरियतामा केही समय फुटबल खेलेका थिए। उनले खेलमा आफ्नो सीमितता समयमै बुझ्ने र प्रशिक्षणतर्फ रुचि बढाए। उनले केही तालिमहरु लिएर आफ्नो पिताका क्लबमा युथ कोचको भुमिका निर्वाह गरे। उनी पोर्चुगलको दोस्रो वरियताको टोली आमाडोराको फिटनेस ट्रेनर पनि भएर काम गरिसकेका थिए।

यसरी बबीलाई आफ्नो स्काउटिङबाट प्रभावित पारेर जोसे उनका सहायक बन्न पुगे। पोर्टोका तत्कालीन गोलरक्षक तथा बार्सामा बबीका एक सहायक भिटोर बहिया भन्छन् “जोसेलाई लामो समयदेखि चिन्छु। उनको खेलाडीलाई बुझ्ने र बुझाउने तरिका स्पेशल छ।”

बबी र जोसे मिलेर पोर्टोलाई सन् १९९४ मा च्याम्पियन्स लिगको सेमी फाइनलमा पुर्याए। दुर्भाग्यवश पोर्टोले बार्सिलोनासँग ३-० गोलले पराजय भोग्यो। तर बार्साको रडारमा परे बबी रबसन। रबसन र माउरिन्होको जोडीले पोर्टोलाई २ लिग उपाधि र १ कप उपाधिको सफलता दिलायो।

यसरी सन् १९९६ मा बार्साले बबीलाई प्रशिक्षकको प्रस्ताव राख्यो र माउरिन्होसँगको सल्लाह पछि दुवैजना बार्सा जान तयार भए।

बार्सामा नयाँ चुनौती

“बबीलाई सबै श्रेय दिन चाहन्छु।” जोसे भन्छन्। “उनी पोर्चुगल आउँदासम्म म कोही पनि थिन। बबीले नै मलाई दुई ठूला क्लबमा काम गर्ने मौका दिए। उनले नै मलाई बार्सिलोना जस्तो विश्वकै ठूलो क्लबमा लिएर गए।” माउरिन्हो सम्झिन्छन्, “हामी दुई बेग्लाबेग्लै स्वभावका प्रशिक्षक हौं तर एउटा टप प्रशिक्षक बन्न जे चाहिन्छ, बबीले मलाई सिकाएका हुन्।”

बार्साको चुनौती र संस्कृति बेग्लै थियो। यद्यपि माउरिन्हो बार्सामा सजिलै घुलमिल भए। पत्रकार सान्टी जिमिनेज भन्छन्, “खेलाडी र पत्रकारले उनको इज्जत गर्थे। अहिलेको जोसे र हामीसँग समय बिताउने जोसेमा धेरै फरक छ। समयले सबै बदल्दो रहेछ।” जिमिनेजले थपे, “जोसेलाई कसले आफूलाई मनपराउँछ पराउँदैनले केही असर गर्दैन थियो। उनी यो सोचेर कहिले समय बर्बाद गर्दैन थिए।”

माउरिन्हो त्यति बेला बार्सामा ‘जोसे’ भनेर बढी चिनिन्थे। निकट मित्रका लागि उनी केवल ‘जे’ थिए। बबी र जोसेको परिवारबिच पनि निकै आत्मीयता थियो। बार्साको ट्रेनिंगमा बबी खेलाडीहरुसँग व्यवसायिक दूरी कायम राख्थे तर जोसे एकदमै मिलनसार थिए। त्यतिबेला माउरिन्होको दोस्ती पोर्चुगिज भाषा बोल्ने ब्राजिलियन रोनाल्डोसँग गहिरो थियो। बार्सामा रोनाल्डो पनि नयाँ साईनिङ थिए। माउरिन्होले रोनाल्डोलाई नया उचाईमा पुर्याउन ठूलो मद्धत गरे। रोनाल्डो त्यसपछि फुटबलिङ्ग जगतमा कुन उचाईमा पुगे, हामी अवगतै छौं।

त्यतिबेला बार्सामा एक खेलाडी थिए पेप ग्वार्डियोला। पेप र माउरिन्हो घण्टौं आ-आफ्नो रणनीति बारे छलफल गर्थे। “हामी अवश्य फुटबल र आफ्नो विचारबारे कुरा गर्थ्यौं तर हाम्रो सम्बन्ध खासै राम्रो थिएन।” पेपले थपे, “म एउटा खेलाडी थिएँ र उनी सहायक।”

माउरिन्होले बार्सामा रहँदा प्रतिद्वन्दीको खेल र रणनीति भिडियोमार्फत आफ्ना खेलाडीलाई प्रस्तुत गर्थे। उनको विचार यस्तो थियो, “बार्साका लागि खेल्ने खेलाडीले जोकोहीको कुरा सुन्दैनन्। आफ्नो कुरा शत् प्रतिशत सही हो भनेर विश्वास दिलाउनु पर्दछ, जुन मैले गरें।” आफ्नो कुरा नबुझ्नेलाई माउरिन्हो तुरुन्तै निन्दा र आलोचना गर्न चुक्दैन थिए।

फलस्वरूप बबीले बार्सामा आफ्नो एक मात्र सिजनमा ३ उपाधि जिते, स्पेनिश कप, सुपर कप र युरोपियन कप। बार्साले घरेलु लिग भने जित्न सकेन र सोही कारणका लागि बबीको स्थानमा आए डच प्रशिक्षक लुइस भ्यान गाल। बबीलाई उक्त कुराको सुँइको थियो।

“बबीबाट मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा पनि यही हो,” माउरिन्हो केलाउँछन्। “आफूले जितेको बेला आफूलाई सर्वोश्रेष्ठ नठान्नु र हारको बेला खत्तम पनि नसोच्नु”, माउरिन्होले थपे। “बबी एट्याकिङ प्रशिक्षक थिए, उनी खेलको फाइनल थर्डमा बेसी जोड दिन्थे, त्यसैले मैले डिफेन्स सम्हाल्नु पर्थ्यो, माउरिन्होको भनाई थियो।”

बबीले बार्सा छोडेर जाँदा जोसे पनि पोर्चुगल फिर्ता जान चाहन्थे, तर बबीले उनलाई भ्यान गालसँग बस्ने सल्लाह दिए। माउरिन्होले बबीको कुरा माने। भ्यान गालले शुरुवाती दिनमै थाहा पाए र भने, “म गलत भएको बेला जोसे मेरो कुराको आलोचना गर्न पछि सर्दैनन्। उनी एक अहंकारले भरिएका जवान हुन् र मलाई उनको यही बानी मनपर्छ।” उनले थपे, “म जोसेको कुरालाई एकदम महत्वपूर्ण मान्छु।”

भ्यान गालका मुनि जोसेले बेग्लै भूमिका निर्वाह गरे। उनी खेलको दौरान बेन्चमा भन्दा बढी दर्शकमाझ देखिन्थे र मध्यान्तरमा आफ्नो धारणा भ्यान गाललाई दिन्थे। यसले जोसेलाई खेलको अर्कै पक्ष सिकायो। “मैले जोसेसँग नजिकबाट काम गरें, भ्यान गाल भन्छन्। उनको प्रशिक्षक बन्ने सामर्थ्यमा मलाई कुनै संका थिएन। मलाई थाहा थियो उनी राम्रो प्रशिक्षक बन्छन भनेर, तर उत्कृष्ट बन्छन्, यो सोचेको थिन”, भ्यान गालले थपे।

माउरिन्हो भ्यान गालको मुनि निरन्तर रूपमा विकसित हुँदै गए। उनले प्रशिक्षणमा चाहिने अन्य धेरै महत्वपूर्ण कुराहरु भ्यान गालबाटै सिके। ट्रेनिङ, रुटिन, टाइमिङ र म्यानेजमेन्टमा माउरिन्हो परिपक्व हुँदै गए।

भ्यान गालले सन् १९९९ मा बार्सासंग च्याम्पियन्स लिगको उपाधि जित्न सकेनन्। जोसेको लागि यो भ्यान गालको ठूलो हार ठहरियो। यसै बिच माउरिन्होलाई क्लब ब्रागाबाट प्रशिक्षणको प्रस्ताव आयो। उनले प्रस्ताव त ठुक्राए तर उनी अब भ्यान गालसँग काम गर्न चाहँदैन थिए। यद्यपि माउरिन्होले एक अन्तिम वर्ष बार्सामा बिताए। व्यक्तिगत र व्यवसायिक, दुबै रूपमा उनको यो निराशाजनक सिजन रह्यो र आउँदो सिजन उनी पोर्चुगल फर्किए।

जोसेले तुरुन्तै काम पाएनन्। उनमा सहनशीलता र ज्ञान दुवै भरिपूर्ण भइसकेको थियो। उनी आत्तेनन्। बबीले जोसेलाई इंग्लिश क्लब न्युक्यासल युनाइटेडमा पुनः सहायकको भूमिका प्रस्ताव गरे। उनले त्यो पनि लिएनन्। जोसेले ठूलो प्रस्ताव पर्खिरहेका थिए। उनले सन् २००० को सेप्टेम्बरमा त्यो हासिल पनि गरे। पोर्चुगलको प्रथम वरियताको ठूलो क्लब बेन्फिकासंग जोसे प्रमुख प्रशिक्षकका रूपमा आबद्ध भए। तर वेन्फिका र जोसेको तालमेल मिलेन र यो जोडी खासै फलदायी भएन। त्यसपछी उनको पुरानो क्लब पोर्टोले जोसेलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गर्यो। जोसे र पोर्टो, मानौं पुरानो ‘लभ स्टोरी’। यो सम्बन्धले सबैको अपेक्षा भन्दा माथि उठेर सन् २००४ मा युईएफए च्याम्पियन्स लिगको उपाधि जित्यो। संसारले जोसे माउरिन्होको आगमनलाई स्वीकार्यो। जोसे अब ‘जोसे माउरिन्हो’ भए, फुटबलका नयाँ ‘मास्टरमाइन्ड’।

त्यसको एक साता पनि नबित्दै उनी चेल्सी आए। मुख्य प्रशिक्षकको रूपमा। विश्वव्यापी रूपमा तहल्का मच्चिएको थियो। प्रेस कन्फरेन्सका लागि पत्रकार खचाखच भरिएका थिए, यतिमै एउटा प्रश्न आयो जसले माउरिन्होलाई उनी एरोगेन्ट हो कि होइन भनेर अर्थ लगायो। उनले केही यस प्रकारले उत्तर दिए, “प्लिज डोन्ट से आई एम एरोगेन्ट। आई स्पिक त्रुथ। आई एम ए युरोपियन च्याम्पियन एंड आई… आई थिन्क, आई एम दि स्पेशल वान।”

(फोर् फोर् टू बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?