नाकाबाट सुदूरपश्चिम भित्रिएका अधिकांशमा कोरोना संक्रमण

टेकसिंह धामी, धनगढी । कोरोना महामारीको दोस्रो लहरसँगै नेपाल भारत सीमाका विभिन्न नाकाबाट मुलुक प्रवेश गर्नेहरूमा अत्यधिक संक्रमण देखिन थालेको छ ।

हिजो सुदूरपश्चिम नेपालका विभिन्न नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये १० जनाको मृत्यु भएको छ ।

बैतडीको झुलाघाट नाकामा गरिएको १९ जनाको एण्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कञ्चनपुरको गड्डाचौकीबाट नेपाल प्रवेश गरेका १ सय ३ जनाको परीक्षणमा ७ जनामा एण्टिजेन पोजिटिभ देखिएको छ । कैलालीको गौरीफण्टा (डोकेबजार) बाट छिर्नेमध्ये २ सय २९ जनाको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भारतबाट हालै नेपाल प्रवेश गरेकामध्ये कैलालीमा ४, कञ्चनपुरमा ४ तथा अछाममा २ गरी कूल १० संक्रमितको मृत्यु भएको छ ।

शनिबार पनि भारतबाट नेपाल प्रवेश गरेका धेरैमा संक्रमण पुष्टि भएको थियो । गड्डाचौकीमा गरिएको पीसीआरबाट ६८ तथा एण्टिजेन परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी गौरीफण्टा (डोकेबजार) मा २ सय ६१ जनाको एण्टिजेन परीक्षणमा ३१ जना पोजिटिभ पाइएको छ ।

उता सशस्त्र प्रहरी बलको नं. ७ बैध्यनाथ वाहिनीमा ७ जना,नं.३६ गण हेडक्वार्टर डोटीमा १ जना र नं.३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरमा १ जना सशस्त्र प्रहरी कर्मचारीमा एण्टिजेन पोजिटिभ आएको छ ।

यसैबीच शनिबार हालै भारतबाट अछाम आएका एण्टिजेन पोजिटिभ एक जनाको मृत्यु भएको छ । यसरी तोकिएको नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा बढ्दो संक्रमण दर पाइएकाले खुल्ला सीमानाको कारण संक्रमणले अझै भयावह रुप लिनसक्ने बताइन्छ ।

भारतमा महामारी बढेसँगै नेपाल फर्केका तर,खेत,बारी र खोला नालाबाट कति संक्रमित लुकिछिपी भित्रिए भन्नेबारे यकिन तथ्याङ्क कसैसँग पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?