कोरोनामा साना व्यवसायी : ४० प्रतिशत भए पलायन

कमला अर्याल/काठमाडौं-

नेपालमा कोरोना संक्रमण बढेसँगै सानादेखि ठूला व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको छ ।

कोरोनाको पहिलो लहरबाटै थला परेका साना व्यवसाय लयमा फर्कन नपाउँदै पुन: दोस्रो लहर शुरु भएपछि व्यवसाय कोमाको अवस्थामा पुगेको हो । ‘कोरोनाको पहिलो लहरमै ४० प्रतिशत व्यवसाय सधैका लागि बन्द भइसकेका थिए । यसबाट ३५ प्रतिशत व्यापारीहरु विस्तावित भएका छन् ।’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने । कोरोनाको संक्रमणबाट ध्वस्त भएका ती उद्योगी तथा व्यवसायीहरु फर्केर आउन सक्ने अवस्थामा नभएको अध्यक्ष कटवालको भनाई छ । पलायन भएका उद्योग बाहेकका केही उद्योगहरु व्यक्तिगत बलबुतामा जेनतेन संचालन भइरहेका थिए ।

गत साउनपछि कोरोनाको संक्रमण केही कम भएसँगै संचालन हुन थालेका साना व्यवसाय दोस्रो लहर सुरु भएसँगै कोमामा पुग्ने अवस्थामा रहेको अध्यक्ष कटवालको भनाई छ । व्यवसाय संचालन हुन थालेपछि केही राहत महशुस गरेका व्यवसायीले घर भाडा र बैंकको ऋण तिर्न सकिन्छ कि भन्ने उत्साहमा काम गर्न थालेका थिए । तर पुनः कोरोनाको दोस्रो लहरका कारण सरकारले निषेधाज्ञा लगाएकाले साना व्यवसाय पूर्ण रुपमा उठ्नै नसक्ने गरी थला परेको व्यवसायीको गुनासो छ । अहिले साना व्यवसायी निराश अवस्थामा छन् ।

पहिलो लहरवाटै साना व्यवसाय क्षेत्रले अर्वौँ रुपैँया क्षति भोगिसकेको छ । महासंघमा आवद्ध ११ हजार भन्दा बढी व्यवसायी अहिले हात बाँधेर बस्नु परेको महासंघको भनाई छ । त्यसका साथै महासंघमा आवद्ध लाखौँ व्यवसायीहरु अहिले मर्माहत अवस्थामा रहेका महासंघको भनाई छ ।

विभेदकारी नीतिका कारण साना व्यवसाय पलायनको संघारमा

विश्व नै कोरोना संक्रमणको चपेटामा परिरहेका बेला नेपालको अर्थतन्त्र पनि निकै प्रभावित भएको छ । अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको उद्योग व्यवसाय क्षेत्र थला परेको छ । गत वर्ष सरकारले उद्योग व्यवसाय क्षमेत्रलाई पनि क्षतिको आधारमा वर्गिकरण गरेर राहत प्याकेज ल्याएको थियो । क्षतिको आधारको मूल्यांकलन गरी नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत राहत प्याकेज ल्याएको थियो ।

तर सरकारको विभेदकारी नीतिका कारण साना व्यवसायले राहत नपाएको महासंघको गुनासो छ । ‘जुन सरकार आए पनि आफ्ना पार्टीका कार्यकर्ता पोस्ने खालका राहतका कार्यक्रम आउँछन्,’ महसंघका अध्यक्ष कटवालले भने । सरकारको विभेदकारी नीतिका कारण एउटै क्षेत्रमा व्यवसाय गरेका साना र ठुला व्यवसायमा विभेद गरेको उनको भनाई छ । सरकारको यस्तै विभेदकारी नीतिका कारण साना व्यवसाय कोमामा पुगेको कटवाल बताउँछन् ।

आगामी दिनमा कसरी अगाडि बढ्छन् साना व्यवसायी ?

साना व्यवसायीले आफ्नै बलबुताकै भरमा व्यवसाय संचालन गर्नुको विकल्प छैन । तर अहिले कोरोना महामारी बढिरहेका बेला तत्काल व्यवसाय संचालन गर्ने अवस्था छैन । साथै अहिलेसम्म संचालन गर्न पाएका व्यवसयामा पनि स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाईका साथ पूरा गरेर संचालन गर्नुपपर्ने अवस्था छ । सरकारले सहुलियत नदिएकाले अब साना व्यवसाय माथि उठ्न सक्ने अवस्था छैन ।

भारतले पशुपालक किसान, ट्याक्सी चालकदेखि सबै साना ठुला व्यवसायलाई राहत दिएको छ । तर नेपालको सन्दर्भमा सरकारको नीति नै विभेदकारी भएका कारण साना उद्योग बाँच्न सक्ने अवस्था नभएको कटवाल बताउँछन् । सरकारको विभेदकारी नीतिकै कारण साना व्यवसायमा पनि एक खाले व्यवसायले सात पुस्ता पुग्ने कमाएका छन् भने एक खाले व्यवसायीलाई सात पुस्तासम्म ऋण तिर्न समय लाग्ने अवस्था भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?