रोकिएन एन आई सी एशियाको ज्याजति : ऋणीसँग चर्काे शुल्क असुलेपछि राष्ट्र बैंकको डण्डा !

काठमाडौं – पटक /पटक सेवाग्राहीलाई दुख दिएको एन आई सी एशिया बैंक लि.को ज्याजति रोकिएको छैन ।

पछिल्लो समय बैंकले ऋणीसँग तिरिसकेको कर्जाको ब्याज बढाएर पुनः ऋण तिर्न पत्र काटेपछि नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको छ ।

बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घर कर्जाको ब्याजदर १५.७० प्रतिशत कायम गरी ऋणीलाई पत्राचार गरेको थियो । यसअघि बैंकको कर्जाको ब्याजदर ९.९२ प्रतिशत थियो । बैंकले एकैचोटी ५.७८ बिन्दु थप गरी कर्जाको ब्याजदर १५.७० प्रतिशत पु-याएको थियो । त्यस्तै, बैंकले यसअघि कायम गरिएको कर्जाको प्रिमियममा समेत थप गरेर ब्याज निर्धारण गरेको खुलासा भएपछि राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ ।

‘बेसरेट’ बढ्दा कर्जाको ब्याजदर बढ्नु स्वभाविक भएपनि कर्जा सम्झौतामा तोकिएको प्रिमियममा बैंकले कर्जा सम्झौता अवधिभर ब्याज थप गर्न पाउँदैन । तर बैंकले बद्मासी गरेपछि राष्ट्र बैंक कारवाहीमा उत्रिएको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले स्पष्टिकरण सोधेको बताए ।
‘के भएको रहेछ भनेर सोधपुछ गरियो, त्यसपछि बैंक ब्याक भएको छ ।’ प्रवक्ता ढकालले लोकपथसँग भने । बैंकले गल्तीले यस्तो भएको भन्दै गल्ती सच्याउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

अहिले बैंकको बेसरेट ६.७७ प्रतिशत छ । बैंकले कर्जा लगानी गर्दा विभिन्न शिर्षकका कर्जामा ७ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिँदै आएको थियो ।

एन आई सी एशिया बैंकले राष्ट्र बैंकलाई स्पष्टिकरण दिँदै प्राविधीक कारणले यस्तो गल्ती भएको जवाफ दिएको छ । नियतवश ऋणीलाई दुःख दिने मनशाय नभएको भन्दै प्राविधिक कारणले भुल भएको जनाएको छ । साथै आगामी दिनमा गल्ती सच्याउने प्रतिवद्धता बैंकले गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकको स्पष्टिकरण पछि एन आई सी एशिया बैंकले ब्याजदर पहिलेकै अवस्थामा झारेको छ ।

एन आई सी एशिया बैंकले आम मानिसलाई फकाइ फुलाई ऋण दिने, अरु बैंकको तुलनामा सजिलै र बढी ऋण दिने गरेको एक ऋणी बताउँछन् । तर बैंकले विस्तारै ऋणीबाट अनाश्यक शुल्क असुल्दै उसको जीवनभर जोगी बनाइछाड्ने गरी दुख दिएको ती ऋणीको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?