मातलाग्दो मौसमकाबीच मुस्कुरायो ज्याकाराण्डा (फोटोफिचर)

बिप्लव जम्कटेल/काठमाडौं – दिनभर वहने चिसो हावाहुरी र रातमा वर्षने पानीले यतिबेलाको मौसम छुट्टै आनन्ददायक छ ।

वातावरण मनमोहक देखिन्छ । निषेधाज्ञाका कारण बनेको सुनसान वातावरणमा चराचुरुङ्गीको चिरबीर कानमा ठोक्किन आईपुग्छ । त्यसैमाथी शान्त काठमाडौं शहरका छेउछाउमा बडेमानका रुखमा निष्फिक्रि फुलेका ज्याकाराण्डाले शहर कम्ता सुन्दर देखिएको छैन ।

धरहराको छेको पारेको फूलेको होस् वा सिंहदरवारअघि विराजमान चौतारोको छहारी जसरी उभिएको ज्याकाराण्डा । घण्टाघरको दृश्य कैद गर्दा क्यामेराको अगाडी ‘म पनि देखिन्छु नि’ भनेर जिद्धि गरेझैँ लाग्ने यी फूलहरुले साँच्चै धुलाम्मे, भिडभाडयुक्त र कोलाहल शहरलाई पुग्ने गरी शितलता छरेको छ ।

सोली आकारमा गाढा निलो रङमा फूलेर बोटको वरिपरी अर्थात् सडकका छेउमा झरेको यसको दृश्यले जो कोहीलाई प्रफुल्लित तुल्याउँछ । हुन त काठमाडौका मुल सडक छेउछाउमा ज्याकाराण्डामात्रै होईन अन्य रंगीविरंगी फूलहरु पनि फूलेका छन् । तर ज्याकाराण्डा यसरी मुस्कुराएको छ कि, अन्य फूलहरु फिक्का भएका छन् । सडकमा फुस्रो रङमा बेपर्वाह फूलेको बेगनबेली पनि टनमन्नै छ।

तर मानिसहरुको ध्यान ज्याकाराण्डाबाट हटेको छैन । कोरोनाको जोखिमबाट जोगिन भन्दै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सडक सुनसान छ । मानिसहरु बाटोमा देखिँदैनन् । अत्यावश्यक सवारीसाधनले गति बढाएर दौडिएका छन् ।

कोरोनाको उच्च जोखिमकाबीच सडकमा पट्यारलाग्दो ड्युटिमा खटिएका प्रहरी पनि महामारीको तिव्र वृद्धिसँगै हतासिएका छन् ।

उनीहरु उदास देखिन्छन् । तर बेलाबखतमा सडक छेउमा वेपर्वाह फुलेका फूलहरुको मनमोहक दृश्यमा नजर लगाउँछन् । यस्तो लाग्छ –  उनीहरु फूलहरुसँग खुसी सापटी माग्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?