कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्नै मुस्किल, पशुपति परिसरमा जे देखियो फोटोमा हेर्नुहोस्

मंगलवार : जारी निषेधाज्ञाको छैठौँ दिन

स्थान : काठमाडौं पशुपतिनाथ मन्दिर परिसर

समय : दिनको १ बजे

अघिल्लो दिन सोमवार रातभरीको वर्षाले बाग्मती सङ्लो बग्न पाएको छैन ।

हावा चिसो छ । आकाश अध्यारो छ, तर शान्त । नदी हुनुको धर्म निभाउँदै बाग्मतिले छेउछाउका झार, फोहोर आफूसँगै बगाउँदै छ ।

कहिँकतै शव जलाएर घाटेले खरानीसँगै हुत्याईदिएका तर पुरा बलिनसकेका काला चिर्पटो पनि छन् ।

कुकुरहरु यताउता गर्दैछन् । बाँदरहरु घरी वल्लो घरी पल्लो मन्दीरमा फड्को मार्दैछन् । परेवाहरु चारो पाउने आशमा भुर्रर्र उडिरहेका छन् ।

कतैकतै हुल बाँधेर लस्करै तारभरी अडिएका छन् । फाट्फुट्न देखिएका मानिस लौन के हुन लागेको हो ? भन्ने भावमा अचम्मीत भएर यताउता गर्दैछन् ।

केहि बेवारिसे, मानसिक स्थिती ठिक नभएका, बाग्मतिमा सुन खोज्नेदेखि, जोगी र घुमन्तेहरु टहलिएका छन् । पशुपति क्षेत्र विकास कोषका कर्मचारी, सेक्युरिटी गार्डदेखि, स्काउट र स्वयम्सेवी पनि यताउता दगुरिरहेका छन् ।

शवबहान निकै हतारमा हुत्तिएका छन् । कति कतिबेला एम्बुलेन्स पनि देखापर्छ । मलामीको भीड देखिन्छ ब्रम्हनालको वरिपरी । लस्करै जल्नको लागि पालो कुरिरहेका शवहरु छन् छेवैमा ।

अन्तिम बिदाईमा मृतकका आफन्तको चिच्चाहट, परिवारलाई सदाको लागि गुमाउनुको पिडा आँशु र घुक्क घुक्क आवाजले वातावरणमा सन्नाटा छाएको छ । शव जलाइरहेको स्थानबाट बाफिँदै आएको गन्ध र धुँवाको मुस्लोले श्वास फेर्न निकै कठिन छ ।

हो, कोरोनाको दोस्रो लहर बढेसँगै यतिबेला कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । जसका कारण काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।

पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि सोमवार बाग्मती नदी किनारमा शव जलाइएको थियो ।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र यन्त्रले नभ्याएपछि बाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै । तस्वीर : रासस

कोरोनाका कारण ज्यान गुमाएका दैनिक २० देखि ३० वटा शव व्यवस्थापन गर्नुपर्ने भएकोले सोमवार बाहिरै पनि व्यवस्थापन गरिएको हो ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा जातीय संस्कार अनुसार शव जलाउन वा गाँड्न दिईएको थियो ।

पशुपति परिसरमा जे देखियो तस्वीरमा हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?