काठमाडौं-
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालको होटल क्षेत्र पूर्ण रुपमा प्रभावित भएको छ ।
अघिल्लो वर्षको फागुनदेखि फैलिएको कोरोना संक्रमणका कारण थला परेको होटल क्षेत्र दोस्रो लहर शुरु भएसँगै थप प्रभावित भएको हो ।
गत वर्षको साउनपछि केही समय मात्रै खुलेका होटहरु लयमा फर्कनै नपाउँदै पुनः मारमा परेका हुन् । सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गर्दै तयारी गरिरहेका बेला होटल क्षेत्रले पनि पर्यटकका लागि सुविधा सम्पन्न होटलहरुको व्यवस्थापन गरेको थियो । यस क्षेत्रमा व्यवसायीहरुले अर्वाै रुपैँया लगानी गरिसकेका थिए ।
तर कोरोना संक्रमणसँगै होटल क्षेत्र पूर्ण रुपमा रुपमा टाट पल्टिए । कोरोना संक्रमणभरी कुनै पनि होटलले राम्रोसँग कारोबार गर्न नपाएको होटल संघ नेपाल(हान)ले जनाएको छ । होटल क्षेत्रले मासिक अर्वाै रुपैँया घाटा बेहोर्दै आएको छ । यस क्षेत्रले मासिक रुपमा १ अर्ब ८० करोड रुपैँया घाटा बेहोर्ने गरेको हानका महासचिव साजन शाक्यले बताए । हानमा देशैभरीका ३ हजार ५ सय होटल आवद्ध छन् । अहिले होटल पूर्ण रुपमा घाटामा भएकाले होटलका लगानीकर्ताले पनि आगामी ४/५ वर्षसम्म लाभांश पाउने अवस्था छैन । कोराना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो होटल क्षेत्र । गत वर्षको मौद्रिक नीतिमार्फत सरकारले होटल क्षेत्रलाई पुर्नकर्जाको व्यवस्था गरेको थियो । यहि पुर्नकर्जाका कारण होटल क्षेत्रले केही राहत महसुस गरेको महासचिव शाक्यको भनाई छ । ‘अहिले सम्म ठुला होटलहरुले २० करोड र केही साना होटलहरुले १/२ करोड रुपैँया पनि पुर्नकर्जा लिएका छन् । त्यसले केही राहत दिएको छ ।’ उनले भने । शाक्यका अनुसार हालसम्म ९३ वटा होटलहरुले पुर्नकर्जाको सुविधा लिइसकेका छन् । तर संक्रमणको अवस्था लम्बिदै गयो भने पुर्नकर्जाको सीमा बढाएर ५० करोड रुपैँया पुर्याउनुपर्ने शाक्यको माग छ । ‘यदि पुर्नकर्जाको सीमा नबढाउने हो भने आगामी पाँच वर्षमा आधा होटल बन्द हुन्छन् ।’ महासचिव शाक्यले भने ।
पछिल्लो समय पर्यटकलाई मात्रै लक्षित गर्दै धेरै साना तथा ठुला नयाँ होटलहरु खुलेका छन् । त्यस्ता साना होटलहरुलाई पनि व्यवसायका आधारमा पुर्नकर्जाको व्यवस्था गरिनुपर्नेमा शाक्यको जोड छ । अन्यथा यी साना होटल व्यवसाय विस्थापित हुन सक्ने संभावना प्रबल छ ।
पहिलो चरणको लकडाउन पश्चात साना होटल, रेष्टुराँ तथा क्लवहरु संचालन भएपनि ठूला तारे होटल संचालनमा आउन सकेका थिएनन् ।
विदेशी पर्यटक लक्षित होटलहरु लामो समय बन्द भएर पुनः संचालनमा ल्याउने योजना बनाइरहँदा पुनःकोरोनाका कारण सरकारले निषेधाज्ञा घोषणा गरेपछि व्यवसाय नै टाट पल्टिने अवस्थामा पुगेको हो । पहिलो चरणको लकडाउनदेखि नै होटल व्यवसायले निरन्तर रुपमा घाटा व्यहोर्दै आएको छ । यहि अवस्था केही समय रहिरहने हो भने होटल क्षेत्र पूर्ण रुपमा धरासायी हुने खतरा छ ।
पाँच तारे होटललाई झनै समस्या
पाँच तरे होटलहरु सुविधा सम्मन्न होटलहरु हुन् । विशेष गरी यी होटलहरु पर्यटक लक्षित गरेर बनाइएका हुन्छन् । यस्ता होटलको शुल्क पनि अरु होटलको तुलनामा बढी नै हुन्छ । यी होटलहरु खास गरी बढी खर्च गर्ने खर्चालु पर्यटकहरुलाई मध्येनजर गरी बनाइएका हुन्छन् ।
कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले घुमघामका लागि पर्यटक आउने कुरै भएन । साधारण मानिस यस्ता होटलको सेवा लिन सक्षम हुँदैनन् । त्यसले गर्दा पाँच तारे होट आर्थिक रुपमा निकै चपेटामा परेका छन् । अहिले होटलमा निकै कम मात्रै कर्मचारीहरु छन् । होटलको खर्च पनि धान्न सक्ने अवस्थामा छैनन्,पाँच तारे होटलहरु । सरकारले केही समय अघि मात्रै विदेशी नागरिकको पिसिआर नेपालमा गर्न बन्द गरेपछि नेपाललाई ट्रान्जिट बनाएका पर्यटकबाट हुने आम्दानी पनि रोकिएको छ । त्यसैले अहिले पाँच तारे होटल शिर उठाउन सक्ने अवस्थामा छैनन् । गत साउनपछि केही समय अलि अलि मात्रै खुलेका यी होटलले लय समात्नै सकेनन् । कोरोना संक्रमणको गति यसै गरी बढिरहने हो भने पाँच तारे होटलहरु बन्द हुने अवस्थामा पुग्ने हानको ठहर छ ।
होटललाई फेरी क्वारेन्टाइन बनाइँदै
होटलहरुले कोरोनाको संक्रमण सुरु भएदेखि गत वर्षबाट नै क्वारेन्टाइन सुविधा उपलब्ध गराउँदै आएका थिए । दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र बढेको छ । त्यस यता काठमाडौंमा होटल क्वारेन्टाइन र आइसोलेसनको माग पनि बढिरहेको छ । तर अहिले औपचारिक रुपमा भने कुनै पनि ठूला होटलले क्वारेन्टाइन संचालन गरेका छैनन् । पहिलो लहरमा हानले सरकारसँग सहकार्य गरेर पाँच तारे होटलहरुले क्वारेन्टाइन बनाएका थिए ।
दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेकाले पुनः होटललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल हुन थालेको छ । सरकारले सहकार्य ग¥यो भने होटललाई पुनः क्वारेन्टाइन बनाउन सकिने हानको भनाई छ । अहिले हानमा आवद्ध ६० वटा होटलहरु क्वारेन्टाइनकै अवस्थामा छन् । सरकारले होटल क्वारेन्टाइन कोठामा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय र दुइजना बस्दा ४ हजार शुल्क तोकेको छ । यस विषयमा थप छलफल भइरहेको शाक्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया