निषेधाज्ञाको छैठौँ दिन सुनसान काठमाडौं : कोरोना तीव्र बढेसँगै सवारी चेकिङमा कडाई गर्दै प्रहरी

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएर स्थिती नियन्त्रणबाहिर जान थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित देशका ४१ जिल्लामा जारी निषेधाज्ञामा कडाई गर्न थालेको छ ।

दैनिक रुपमा बढेको कोरोना संक्रमितको ग्राफ र भयावह बनेको काठमाडौं उपत्यकाको स्थितीलाई मध्येनजर गर्दै सरकारले लागू गरेको निषेधाज्ञामा थप कडाई गरिएको हो । संक्रमण तीव्र रुपमा फैलिएतापनि मानिसहरु अझै गम्भीर नबनेको भन्दै उपत्यकाका चोकहरुमा चेकजाँचमा कडाई गरिएको हो ।

निषेधाज्ञाको नियमलाई पालना गराउन सडकका चोकहरुमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएका छन् । हालसम्म निषेधाज्ञाको नियम पालना नगर्ने १ हजार ६ सय ३९ जना व्यक्ति र ७ सय ३९ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।(बिहान १० बजेसम्मको विवरण)

एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी, सञ्चारकर्मीका सवारी लगायतका अत्यावश्यक सवारी साधन आवश्यक कागजात हेरी भने निर्वाध रुपमा संचालन गर्न दिइएको छ । काठमाडौंका मुख्य चोकमा चेकजाँचमा रोकिएका सवारीबाहेक सडक सुनसानप्राय छ ।

सडक किनारामा निर्माणकार्यमा देखिएका मजदुरबाहेक खासै मानिसहरु देखिदैनन् । सरकारले निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, विद्यालय, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सैलुन, ब्यूटिपार्लर, जिमखाना आदि सञ्चालन गर्न बन्देज लगाएको छ । स्थानीय प्रशासनले खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल तथा व्यवसायलाई बिहान १० बजेसम्म खुल्ला गर्न दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?