भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

RSS
63
Shares

काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमवार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड : 

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शैयातयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शैयासम्म पुर्‍याउन सकिने छ । देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उनले बताए । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई संक्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताए । हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई संक्रमण देखिएको छ । उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा संक्रमितको उपचार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?