अप्रिलमै भित्रिए २२ हजार बढी विदेशी

लोकपथ
247
Shares

काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् ।

गत जनवरीमा आठ हजार ८७४ र फेबु्रअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी एक महिनामा १७ हजार ५७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८०४ पुरुष, तीन हजार ७४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् ।

एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?