काठमाडौं । बझाङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतवार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
यसैबीच एक अर्का कोरोना संक्रमितको पनि ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतवार राति १२ः०० बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा यही वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको आफन्तले जनकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेशनमा बस्नु भनेर भनेको भए पनि गाडी बुक गरेर घर आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताए । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनू भनेर जानकारी गराएको भए पनि मृतक लेप्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताए ।
जिल्लामा आइतवारसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना संक्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा सोमवार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया