कोरोनाबाट वृद्धाको मृत्यु, दुई पालिकामा लकडाउन

RSS
78
Shares

सिन्धुली । यहाँ कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आउनुभएकी एक वृद्धाको मृत्यु भएको हो ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए । “बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए”, उनले भने ।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय सङ्क्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

दुई पालिकामा लकडाउन

यहाँका दुई स्थानीय तहले लकडाउन गरेका छन् । दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेका हुन् । दुधौली नगरपालिकाले आजदेखि लागू हुने गरी वैशाख २९ गते रातिसम्मका लागि लकडाउन घोषणा गरेको छ । नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।

आफ्ना १४ वटै वडामा लागू हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै २५ जनाभन्दा कमको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरी धार्मिक तथा सामाजिक कार्यक्रम गर्नसमेत अनुरोध गरेको छ । अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूललगायतका पसललाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवा पालो प्रणालीबाट सञ्चालन गर्ने तथा भीडभाड हुने स्थानबाट दिइने सेवा सबै बन्द गरिने बैठकले निर्णय गरेको छ ।

गोलञ्जोर गाउँपालिकाले पनि आइतबारदेखि वैशाख २६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका अत्यावश्यक सेवाबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ । गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायतका सेवा भने २४सै घण्टा खोल्न र अन्य सेवा आंशिकरूपमा सञ्चालन गर्न आग्रह गरेको छ । खाद्यान्न पसल, डेरी, होटल बिहान दुई घण्टा र बेलुका दुई घण्टा खुला गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित

जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य स्थगन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण फैलन सक्ने भन्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगन गरिएको हो । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।

परिचयपत्र वितरण गर्ने अभियान सञ्चालन भइरहेको सुनकोशी गाउँपालिका–५ मुलकोटमा कोभिड–१९ सङ्क्रमण देखिएकाले उक्त अभियान रोक्न सिफारिस गर्ने निर्णय गरिएको हो । बैठकले सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङलाई बढाउन अनुरोध गर्ने, कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई थप व्यवस्थित बनाउने तथा एपोलो अस्पतालमा गत वर्ष बनाइएको आइसोलेसन सञ्चालनमा ल्याउन कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय र सिन्धुली अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?