न कुटनीति न राजनीति : नेपालमाथि भारतको खुफिया र सैन्य रणनीति !

लोकपथ
1.6k
Shares

सन्तोष आचार्य – के अब भारतले नेपाललाई राजनीतिक र कुटनीतिक कम खुफिया र सैन्य दृष्टिले बढी व्यवहार गर्न थालेको हो ?

भारतका रक्षाअध्यक्ष अर्थात् ‘चिफ अफ डिफेन्स’ स्टाफ (सीडीएस) विपिन रावतको आगामी नेपाल भ्रमणले यस्तै सन्देश दिन्छ। नेपाली सेनामार्फत् रावतको भ्रमणको चाँजोपाँजो मिलाउन खोजिएको छ। यसका लागि मन्त्रीपरिषद् ले वैशाख ९ गते हरियो झण्डापनि देखाइसकेको छ।

…अनि प्रधानमन्त्री ओलीले बदलेको रङ

२०७७ कात्तिक १९ मा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आएर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेट्न पुगे । कोरोना कहरकैबीच नरवणे नेपाल आएका थिए ।

नरवणेले नेपाल भ्रमण गर्नुभन्दा १३ दिनअघि २०७७ कात्तिक ६ मा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणलाई बिर्सन मिल्दैन । उनको भ्रमणको बेला पनि नेपाल र भारतमा कोरोनाको कहर थियो।

रअ प्रमुख गोयलले पनि त्यसबखत प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूसँग ‘मुलाकात’ गरे।

नरवणेको भ्रमण लगत्तै गोयल किन नेपाल आए ? उनले हाम्रा प्रधानमन्त्रीलगायत नेताहरूसँग के कुरा गरे ? कतै खुलेको छैन। रअ प्रमुखको भेट कूटनीतिक मर्यादा विपरीत भनेर आलोचना पनि भयो, त्यतिबेला। तर हाम्रा प्रधानमन्त्री तथा नेताहरूले ‘कुटनीतिक मर्यादा विपरीतको भेट’ लाई किन अस्वीकार गर्न चाहेनन् वा सकेनन् यो कुरा रहस्यमै छ। तर जतिबेला गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरे, त्यहि बिन्दुबाट नेकपाभित्र खल्लीबल्ली शुरु भयो।

भारतीय स्थल सेना प्रमुख नरवणे र रअ प्रमुख गोयलको नेपाल भ्रमणपछि प्रधानमन्त्रीओलीको ‘राष्ट्रवादी कार्ड’ क्रमशः भुत्ते हुँदै गएको र प्रतिनिधिसभा विघटन गर्ने आँट पनि उनीहरुकै आडबाट पाएको आँकलन एकथरीको छ।

स्कुलको किताब र राष्ट्रपतिले वितरण गरेको तक्मामा ‘चुच्चे नक्सा’ गायब हुनुको पछाडिको कडी पनि यसैसित जोड्ने गरिन्छ।

पछिल्लो समय ओलीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउने कांग्रेस र माओवादी केन्द्रको प्रयासलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोले बल लगाएर रोक्न खोज्नुको पछाडि पनि भारतीय सदासयता मान्नेको पनि कमि छैन।

वैशाख ६ गतेको एक सार्वजनिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीमाथि गरेको कटाक्ष एक पटक फेरि स्मरण गर्नैपर्ने हुन्छ । उनले भनेका थिए, ‘ओली भारतको टाङमुनि छिरिसके, त्वमशरणम् गरिसके।’

नरवणेको त्यो नमिठो वचन

नरवणे र गोयल भ्रमणबीच तादात्म्य थियो ? त्यतिबेला आशंका उठेकै थियो। नरवणेको भ्रमणको चाँजोपाँजो मिलाउन रावतले नै मुख्य भूमिका खेलेका थिए । जबकी नरवणेले नेपालका सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएर विवादमा आएका थिए । नेपाल भ्रमणभन्दा केही समय अघि ।

नरवणे ती पहिलो भारतीय स्थल सेनाध्यक्ष हुन्, जो नेपालको सम्बन्धमा गरेको टिप्पणीका कारण भ्रमणपूर्व नै विवादमा परे । २०७७ कात्तिक १९ मा नेपाल भ्रमणमा आएका उनका लागि विशेष सुरक्षा रणनीति बनाइयो। जब कि विगतका भारतीय सेनाध्यक्षको भ्रमणमा यस्तो दृश्य देखिएको थिएन। नेपालस्थित भारतीय दूतावासको डिफेन्स विंग्स विशेष सक्रिय रहनुपर्यो, यसबेला। नेपालको सम्पूर्ण सुरक्षा निकाय चलायमान बन्यो।

नेपालको दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा रहेका लिम्पियाधुरा, तिल्सी (कालापानी) र लिपुलेक क्षेत्र (करिब ४ सय वर्ग किमि) मा नेपालले दाबी गर्‍यो। नरवणे तिनै भारतीय सेनाध्यक्ष हुन् , जसले यसको सार्वजनिक रूपमै विरोध गरे।

२०७७ जेठ २ मा नयाँ दिल्लीमा भारतको सुरक्षा तथा रणनीतिक मामिलाका ‘थिंक ट्यांक’ मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा सेनाध्यक्ष नरवणेले ‘भारतीय भूमि माथि नेपालको दाबी अरू कसैको उक्साहटमा’ भनेर कठोर टिप्पणी गरेका थिए ।

स्मरणीय कुरा के हो भने, कुनै पनि देशको सेना प्रमुखले सरकारको आधिकारिक धारणाभन्दा बाहिर गएर टिप्पणी गर्दैन। बुझ्न सकिन्छ, भारतीय सेनाध्यक्षले पनि गरेनन्। बिर्सन नहुने कुरा के हो भने, त्यो नेपालमाथि मनोवैज्ञानिक त्रासका लागि जानाजान गरिएको टिप्पणी थियो। तर, प्रतिक्रियामा नेपाली सेना देखिएन। उसले केवल ‘जानकारीमा राखेको’ अभिव्यक्ति दियो। सरकारले यसमा औपचारिक रूपमा केही बोल्नुपर्थ्यो। बोलेन। हच्कियो।

नेपालको उक्त ४ सय वर्ग किमि भूमिलाई भारतले ०७६ कात्तिक १६ मा आफ्नो सिमानाभित्र पारेर नयाँ नक्सा जारी गर्‍यो। यतिमै भारत रोकिएन। उक्त क्षेत्रको नेपाली गाउँ गुन्जी हुँदै नेपालकै लिपुलेक नाकासम्म पुग्ने बाटो खनेर २०७७ वैशाख २६ मा नेपाल बुझेका भनिएका भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन नै गरिदिए, भिडियो कन्फरेन्समार्फत्। त्यतिबेला रक्षामन्त्री सिंहका साथमा थिए, यिनै रावत र नरवणे।

राजनीतिक जस्तो लाग्ने नरवणेको उक्त टिप्पणीले नेपाल–भारत सम्बन्धमा हलचल ल्याइदियो। भारतले आफ्नो दाबी गरेको भूमिलाई नेपालले नयाँ नक्सा जारी गरेर ‘तिम्रो होइन, मेरो’ भनेपछि भारतीय सेनाध्यक्षको उक्त टिप्पणी आएको थियो।

नेपालको नयाँ राजनीतिक नक्सालाई भारतले अहिलेसम्म मान्यता नदिएको मात्र होइन, त्यसलाई कृत्रिम समेत भनिसकेको छ। नेपालले भने त्यही नक्साका आधारमा संविधान समेत संशोधन गर्‍यो। त्यसबाट स्तब्ध र आक्रोशित भारतले यो विवादको हल निकाल्न नेपालले नै वातावरण बनाउनुपर्ने भन्दै बल नेपालको मैदानमा फाल्यो।
त्यो विवाद अहिले पनि जारी छ । यो अलग कुरा हो कि स्कुले पुस्तक र राष्ट्रपतिको पदकमा नेपालको नयाँ नक्सा नदारत छ ।

नेपाललाई हेर्ने रावतको ‘नजरिया’

नरवणे र गोयलको भ्रमणको ६ महिनापछि हुन लागेको भारतका रक्षाअध्यक्ष रावतको नेपाल आगमनलाई केवल ‘पशुपतिनाथको दर्शन’ को रुपमा मात्र हेर्न मिल्ला ? स्रोतका अनुसार आगामी जेठभित्रमा हुने भनिएको रावतको भ्रमणलाई अर्थपुर्ण मानिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट रहेका रावतले यसअघि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् ।

तेस्रो भ्रमण किन ?

सुरक्षा मामिलाका जानकार तथा नेपाली सेनाका पूर्व मेजर जर्नेल (उपरथी) विनोज बस्न्यातका अनुसार रावतको भ्रमणसँग सुरक्षा मामिला त जोडिन्छ नै तर उनको भ्रमणको मुल उदेश्य राजनीतिक नै हो। ‘जब जब हामीकहाँ राजनीतिक अस्थिरता देखिन थाल्यो, तब देखि भारत होस् वा चीन दुवैतिरबाट यस्ता भ्रमणहरु बाक्लै हुने गरेका छन्’ बस्न्यात भन्छन्, ‘कतिपय यस्ता भ्रमणका लागि हाम्रो तर्फबाट पनि वातावरण बनाउने गरेको देखिन्छ,रावतको भ्रमण पनि त्यही हो।’


हाल भारतका तीन सेना अर्थात् स्थल, जल र हवाई सेनाका संयोजक रहेका रावतले यसअघि भारतीयस्थल सेनाध्यक्षका रूपमा दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । २०७३ चैत १६ र २०७४ फागुन १ मा उनले नेपाल भ्रमण गरेका थिए।

आफूलाई भारतीय जनता पार्टी समर्थक भनेर चिनाउन कुनै धक नमान्ने रावतलाई नेपालसँगको सम्बन्धमा मोदीले सैन्य कूटनीतिमार्फत् उपयोग गर्न खोजेको बुझ्न कठिन छैन । भारतीय सेनाको गोर्खा बटालियनको नेतृत्व गरिसकेका रावत नेपालको सिमाना जोडिएको उत्तराखण्डका बासिन्दा हुन् । नेपाल र नेपालीबारे उनी ‘वाकिफ’ मानिन्छन् । दुई पटक नेपाल भ्रमण गरेर उनले नेपाली सत्ताको नाडी पनि छामिसकेका छन्।

भारतको स्थल सेना प्रमुखबाट निवृत्त हुने भएपछि प्रधानमन्त्री मोदीले त्यसैबखत भारतीय सेनाको तीनवटा विङलाई संयोजन गर्ने भूमिका रावतलाई दिएका थिए। भारतीय सञ्चारमाध्यमको आँकलन यदि सहि हो भने मोदीले रावतलाई आफ्नो आगामी रक्षामन्त्रीका रूपमा अघि बढाउन शुरु गरिसकेका छन् ।

रावत तीनै व्यक्ति हुन् जसले चीनसँग नेपालले गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई सम्झौतातर्फ लक्षित गर्दै श्रीलंकाबाट पाठ सिक्न नेपाललाई सुझाव दिएका थिए । यतिमै उनी रोकिएनन् । उनले त्यसबेला भनेका थिए, ‘नेपालले अन्य मुलुकसँग सम्झौता गर्दा सतर्क हुनुपर्छ।’

नयाँ दिल्लीको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोपरेसन एन्ड इन्गेजमेन्टद्वारा २०७७ पुस २ मा आयोजित कार्यक्रममा बोल्दै जनरल रावतले नेपालले असमान भन्दै आएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी नेपालको हितमा रहेको अभिब्यक्ति दिएका थिए।

नरवणेले जस्तै सोझै नेपालको हितबाहिर नबोले पनि रावत नेपालको सम्बन्धमा कस्तो धारणा राख्छन् भन्ने कुरा उनका सार्वजनिक अभिव्यक्तिबाट संकेत पाउन सकिन्छ।

नेपालमाथि २०७२ असोजदेखि लगाएको नाकाबन्दी खुलाउने क्रममा भारतले सैन्य कूटनीति अघि सारेको थियो । त्यतिबेला पनि नेपालमा ओली र भारतमा मोदी नै प्रधानमन्त्री थिए। त्यसपछि गोयल र नरवणेको नेपाल भ्रमणले दुई देशबीचको राजनीतिक र कूटनीतिक सम्बन्ध ओझेलमा पर्ने चिन्ता ब्यक्त गरिएको थियो । त्यसमाथि अहिले त रावतको भ्रमण पनि थपिँदैछ। किनकी, भारतका रक्षाअध्यक्ष रावतलाई चाँडै नै नेपालले स्वागत गर्दैछ।

यस्तो किन भइरहेको छ कूटनीतिज्ञ तथा पूर्वराजदूत जयराज आचार्यका अनुसार भारतले नेपाललाई पछिल्लो समय जुन शैलीमा व्यवहार गरेको छ त्यसको कारण हामी नै हौँ।

‘हामीले नै यो भद्रगोल निम्त्याएको हो’, आचार्य भन्छन्, ‘हामीलाई भौगोलिक छिमेकीले हेपेको उदाहरण हो, गोयल, नरवणे र रावतको भ्रमण ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?