काठमाडौं । कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।
रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिवार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ ।
खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो ।
भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ ।
महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरु प्रदान गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया