कमला अर्याल /काठमाडौं – विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको फाइदा उठाउँदै बजारमा मास्कमा कालोबजारी हुन थालेको छ।
निषेधाज्ञाको फाइदा उठाउँदै व्यवसायीले कोरोना संक्रमणका बेला अत्यावश्यक सामाग्री मास्कमा कालोबजारी गर्न थालेको पाईएको छ।
अघिल्लो वर्षको फागुनदेखि शुरु भएको कोरोना संक्रमणका बेला चरम कालोबजारी भएको मास्कको मूल्य,कोरोना कहर क्रमिक रुपमा घटेसँगै केही समय अलि कम भएको थियो । कोरोनाको संक्रमण कम भएसँगै मास्क तथा सेनीटाइजरको प्रयोग पनि केही मात्रामा कम भएको थियो । तर पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएर स्थिती भयावह भएसँगै बजारमा मास्कको माग बढेको छ। जसको फाइदा उठाउँदै उद्योगी व्यवसायीहरुले पुनःमास्कमा कालोबजारी गरेका हुन् ।
मास्कमा चर्को मूल्यमा कालोबजारी गर्न थालेपछि कालोबजारी गर्ने उद्योगलाई सरकारले कारवाही गरेको छ । मास्कमा कालो बजारी गरेको उजुरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा परेपछि विभागको अनुगमन टोलीले अनुगमन गरी त्यस्ता उद्योगलाई कारवाही गरेको हो । विभागले भक्तपुरको हिमालयन लाइफ केयर इन्डस्ट्रिजलाई मास्कमा कालो बजारी गरेको ठहर गर्दै कारवाही गरेको हो ।
उद्योगले मास्कको कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गरेपछि सरकार त्यसको विरुद्धमा उत्रिएको हो । विभागले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार कारवाही गरेको हो। विभागले सो उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यतिबेला बजारमा थोक व्यापारीले मास्कको मूल्य बढाएका छन् ।
बजारमा पाइने सामान्य खालको सर्जिकल मास्कको होलसेल मूल्य यसअघि २ रुपैयाँ थियो । तर अहिले मूल्य दोब्बरले बढाएका छन् । त्यस्तै, विभागले त्रिपुरेश्वस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई पनि मास्कमा कालोबजारी गरेको भन्दै कारबाही गरेको छ । सो सप्लायर्सले प्रति पिस ४.४६ रुपैयाँ मूल्यमा खरिद गरेको सर्जिकल मास्क ८ रुपैयाँ ३८ पैसामा बिक्रि गरेको अनुगमनका क्रममा विभागले फेला पारेको थियो ।विभागले यस फर्मलाई २ लाख रुपैँया जरिवाना गरेको छ ।
विभागले यसअघि पनि विभागमा परेको उजुरीका आधारमा होलसेल व्यापार गर्ने पाँचवटा फर्मलाई १०÷१० हजार रुपैँयाका दरले जरिवाना गरेको थियो । त्यस्तै, विभागले बढी मूल्य लिएर फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका प्रवक्ता शिवराज सेढाईंले कोरोना संक्रमण बढेसँगै बजारमा मास्कको माग बढेको र त्यससँगै उद्योेगीले मास्कको मूल्य मनपरी रुपमा वृद्धि गरेकोले कारवाही गरिएको बताए । बजारमा कृत्रिम अभाव गराउने र बढी मूल्य लिई कारोबजारी गर्नेलाई कडा कारवाही गर्ने उनले बताएका छन् । ‘यस्तो संकटका बेला कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्नेलाई सरकारले छाड्दैन ।’ प्रवक्ता सेढाईले भने । उनले बजारमा कृत्रिम अभाव हुन नदिन उद्योगले होलसेललाई बेच्ने, होलसेलले खुद्रा व्यवसायीलाई बेच्ने र खुद्रा व्यवसायीले उपभोक्तालाई बेच्चे मूल्य निर्धारण गर्नुपर्ने बताउँछन् । यस्तो गर्दा बजारमा कृत्रिम अभाव हुने र अनाश्यक मूल्य बढाउने प्रवृत्ति नियन्त्रण हुने विश्वास सेँढाइको छ ।
मास्क, सेनीटाइजर लगायत दैनिक उपभोग्य वस्तु दाल, चामल, खाने तेल, गेडागुडी लगायतमा पनि कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्नेलाई सरकारले निगरानी गरिरहेको प्रवक्ता सेडाईँको भनाई छ। विभागले विभिन्न ६ वटा अनुगमन टोली बनाई दैनिक बजार अनुगमन गरिरहेको छ। साथै, तत्काल रेस्पोन्सका लागि अर्को टोलीलाई पनि विभागले तयारी अवस्थामा राखेको छ। साथै विभागले हटलाईन नम्बर ११३७ (पैसा नलाग्ने)मा पनि सम्पर्क गर्न सकिने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया