सरकारलाई कांग्रेसको प्रश्न- ‘सत्ता जोगाउन मन्त्री थप्ने, जनता जोगाउन अस्पताल किन नथप्ने ?’

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ ।

शनिवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भएपनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया छैन भन्नु लाचारी र लज्जास्पद भएको बताए ।

शुक्रवार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैया उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने अपिल गरेको गरेको थियो । स्वास्थ्य मन्त्रालयको यस्तो अपिलको नेपाली कांग्रेसले विरोध गरेको हो । आज यसै विषयमा कुरा गर्दै प्रवक्ता शर्माले अहिलेको परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषि भएको बताए ।

सरकारले समयमै विषयप्रतिको गम्भिरता प्रस्तुत नगर्नु र दुरदर्शिता नराख्नुका कारण आजको परिस्थिति आएको उनको भनाई छ । उनले भने– ‘सरकारले समयको सदुपयोग गर्न सकेन् । सत्ताको द्धन्द गरेर गुजार्‍यो । मन्त्रीको संख्या थपेर गुजार्‍यो । मन्त्रीको संख्या बढाउने, भेन्टीलेटरको संख्या नबढाउने, मन्त्रीको कुर्सि थप्ने सरकार बचाउन तर जनताका जीवन बचाउन अस्पतालमा बेड नथप्ने यो कर्म गरिसकेपछि यो अवस्था आयो । यो परिस्थिति आउन सम्पूर्ण रुपले दोषि सरकार छ । समय हुँदै विषयप्रतिको गम्भिरता नराख्नु, दुरदर्शिता नराख्नु र गर्नुपर्ने पर्याप्त तयारी नगर्नु यो परिस्थिति उत्पन्न हुनुको दोष हो ।’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गरेको छ । बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता के कति हो, अवस्था कस्तो छ भन्ने विषयमा सरकारले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने सरकारले समाजका सबै पक्षसँग चाहेको सहयोग के हो स्पष्ट पार्नुपर्ने प्रवक्ता शर्माले बताए । शर्माले राज्य जिम्मेवारीबाट पन्छिने बेला नभएको पनि बताए । उनले भने – ‘जिम्मेवार राज्यको कर्तव्य बेड छैन भनेर अभावको गित गाएर पुरा हुँदैन । राज्यले छैन भने जुटाउने कसरी ? व्यवस्थापन गर्ने कसरी ? अर्बौ रुपैयाँ लगेर हामी चुनावमा खर्च गर्न तयार थियौ त, बेड खरिद गर्न लाखौँ, करोडौँ खर्च गर्न सकिन्न ? व्यवस्थापन गर्न सकिन्न ? त्यसकारण अहिले राज्यले हात उठाउने बेला भएको थिएन ।’

प्रवक्ता शर्माले सरकारलाई जिम्मेवार भएर कर्म गर्नका लागि सजग गराए । केन्द्र सरकारसँगै प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि नेपाली कांग्रेसको तर्फबाट नागरिकको जिवन बचाउनका लागि जिम्मेवार भएर लाग्न सजग गराइएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?