काठमाडौं। डिएफबी पोकाल भनेर चर्चित ‘जर्मन कप’ २०२१ को पहिलो फाइनलिस्ट आर.बी. लाइपजिग भएको छ।
गए राती सम्पन्न पहिलो सेमीफाइनल खेलमा लाइपजिगले वेरडर ब्रेमेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
ब्रेमेनको घरेलु मैदानमा भएको खेलको निर्धारित ९० मिनेटसम्म कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ गएको थियो।
अतिरिक्त समयको पहिलो हाफमा नै लाइपजिगले अग्रता लियो। ९३औं मिनेटमा लाइपजिगकालागि सब्स्टिच्युड स्ट्राइकर हि-चान् ह्वांगले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्रेमेनले गोल फर्कायो। लाइपजिगका डिफेन्डर दायोट उपामेकानोको गल्तीलाई सजाय दिँदै ब्रेमेनका लियोनार्दो विटेनकाउर्टले खेल बराबरीमा पुर्याए।

अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा लाइपजिगले दोस्रो गोल फर्कायो। ह्वाङको सुन्दर पासमा एमिल फर्सबर्गले गोल गर्दै लाइपजिगको फाइनल यात्रा सुनिश्चित पारे।
यस सिजनपछि बायर्न म्युनिक जान लागेका लाइपजिगका मुख्य प्रशिक्षक जुलियन नाइँगलस्म्यान लाइपजिगसंग आफ्नो पहिलो र अन्तिम उपाधि जित्न आतुर छन्।बुन्डेसलिगा आफ्नो पहुँचबाट लगभग बाहिर गएको हुँदा उनको लागि यो उपाधि महत्वपूर्ण रहेको छ। उनले आजको दोस्रो सेमीफाइनल खेलबाट आफ्नो प्रतिद्वन्दी थाहापाउने छन्।

आजको सेमीफाइनल खेलमा बोरुसिया डर्टमन्ड र होलस्टेन केल प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया