आज पनि श्रमिकहरु आधारभूत आवश्यकताका समस्यामा छट्पटाइरहेका छन् : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वका महासचिव नेत्रविक्रम चन्द विप्लवले मजदुर दिवसका अवसरमा शुभकामना व्यक्त  गर्दै आज पनि श्रमिकहरु आधारभूत आवश्यकताका समस्यामा छट्पटाइरहेनुपरेको बताएका छन् ।

नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास र कपास जस्ता आधारभूत कुराहरुमा छटपटाइरहनु परेको उनको भनाई छ ।

एक विज्ञप्ति जारी गर्दै उनले भने- ‘आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ ।

१३२ औँ श्रमिक दिवसको वक्तव्य

आज आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण श्रमिक दिवस १ मई हो । सर्वप्रथम यस सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ ।

श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन् । परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन् ।

उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार हुन् । श्रमिकहरू केवल उत्पादनका औजार होइनन्, समृद्धिका स्रोत हुन् । जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ ।

नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।

विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्छ– मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन । नेपालमा यसको उचित परिस्थिति बनेको छ । सारा मजदुर किसान एवम् श्रमिक साथीहरू आउनुस्, राष्ट्र परिवर्तन गर्ने यो ऐतिहासिक जिम्मेवारी बहन गर्न क्रान्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भीकतपूर्वक अगाडि बढौँ । श्रमिक वर्गको संसारलाई कसैले रोक्न सक्नेछैन ।

विप्लव
महासचिव

१ मे, २०२१ (१८ वैशाख, २०७८)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?