देउवाको पत्रकार सम्मेलन : कोरोना महामारी, एमसीसीदेखि वैकल्पिक सरकार गठनसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको पर्याप्त आपुर्ति गर्न सरकार समक्ष माग गरेको छ ।

शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आएको र आइसियु, बेड, अक्सिजन, भेन्टीलेटरको अभाव भएकाले तत्काल अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न सरकार समक्ष माग गरे ।

देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई, सम्भावित संक्रमितको पीसीआर परीक्षणलाई व्यापक गर्न, सिमा नाकाहरुमा अनिवार्य पीसीआर परीक्षण र परिक्षणको नतिजा नआउञ्जेलसम्म होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्न, संक्रमितलाई आइशोलेसनको व्यवस्था गर्न पनि नेपाली कांग्रेसले माग गरेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई जोखिमभत्ता दिइनुपर्ने, अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्नुपर्ने, कोभिड विरुद्धको खोप आपुर्तिका लागि प्रभावकारी कुटनीतिक पहल गर्नुपर्ने, र लकडाउनको समयमा कृषि उपजको आपूर्ति र किसानको आवत् जावत्लाई सहज गराउन पनि माग गरिएको छ ।

विदेशमा जानेहरुको संख्यालाई ध्यानमा राखेर आवश्यक पीसीआर परीक्षण गर्न अस्पतालको संख्या बढाइनुपर्ने, लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक, र व्यवसायीलाई आवश्यक सहयोग, राहतको कार्ययोजना ल्याइनुपर्ने तथा कोभिड संक्रमणबाट बच्न आवश्यक मापदण्डलाई कडाईका साथ लागु गर्न अनुगमन संयन्त्र मजवुत गराउनुपर्ने पनि सभापति देउवाले बताए । साथै सरकारले पूर्वाग्रही भएर प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेकाले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको छ ।

कांग्रेसले कोभिड १९ विरुद्धको सचेतना अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनालाई परिचालन गर्ने प्रतिवद्दता पनि व्यक्त गरेको छ । लकडाउनका कारण आर्थिक, सामाजिक समस्यामा परेकाहरुलाई सहयोग अभियान चलाइने पनि प्रतिबद्दता गरेको छ । साथै संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप सहयोग गर्ने निर्णयको स्वागत गर्दै अन्य विकसित राष्ट्रसँग खोप सहयोगको लागि अनुरोध समेत गरको छ ।

कांग्रेस सभापति देउवाले वर्तमान अवस्थाको सिर्जना हुनुमा सरकारको चरम लापरबाही, असंवेदनशिलता, अर्कमण्यता जिम्मेवार रहेको र सरकारले कसैको सल्लाह सुझावलाई आत्मसात् नगरेको बताए । कोरोना संक्रमण रोक्न सरकारले कुनै ठोेस काम नगरेको सभापति देउवाको भनाई छ । उनले उपत्यकामा निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै कोभिड १९ को परिक्षण नगरी उपत्यका छोड्ने समय दिएका कारण लाखौँ मानिसहरु कम संक्रमित भएका जिल्लाहरुमा पुग्नाले व्यापक संक्रमणको खतरा रहेको पनि बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताए छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा सभापति देउवाले संविधान अनुरुप पार्टी महाधिवेशन धकेल्न नमिल्ने भन्दै उनले महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । उनले भने– ‘विकल्प केही छैन । नेपालको संविधान अनुसार हुनैपर्छ यो कुनै हालतमा पनि ।’

सभापति देउवाले वैशाख १५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक महामन्त्री शशांक कोईरालाको आग्रहमा स्थगित गरिएको पनि बताए । महामन्त्री कोइरालाले कोभिडको अवस्थाका कारण बैठक रोक्न आग्रह गरेपछि बैठक रोकिएको बताए ।

पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले सांसदको संख्या नपुगेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताए । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको भएपनि सांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताएका हुन् । जसपाले साथ नदिदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उनको भनाई छ । उनले भने– ‘नेपाली कांग्रेस पार्टीले नि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ नि । तर संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन चाहेर हुन्छ त ? प्रधानमन्त्री हुन चाहान्छु भनेर प्रधानमन्त्री हुन्छ र ? संख्या पुगेको छैन । त्यही भएर सकिएन । हामी सँग संख्या पुग्दैन यो सत्य कुरा हो । जसपाले उता सहयोग गरेको छ ।’

यसैक्रममा सभापति देउवाले एमसीसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाए । अमेरिकाले एमसीसी मार्फत सित्तैमा ठुलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको बताए ।

एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुठा प्रचार गरिएको उनको भनाई छ । उनले भने ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो । मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यत्ति भएको हो क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?