लुम्बिनी प्रदेशको समस्या लिएर महन्थ ठाकुर निर्वाचन आयोगमा (पत्रसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गरिएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

आफ्ना ४ सांसदहरुलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा सामेल भएका ४ मन्त्रीहरुलाई उपेन्द्र यादव पक्षले कारवाहीको माग गरेको थियो । त्यसै अनुसार प्रदेश सभा सचिवालयले बिहीवार उनीहरुलाई पदमुक्त गरेको थियो ।

त्यससँगै सांसदहरु सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई पदमुक्त गरिएको हो । बिहीवार नै पार्टीको केन्द्रीय कमिटीले कुनै निर्णय नगरेको बताउँदै अध्यक्ष ठाकुरले आपत्ति जनाएका थिए ।

“गैरकानूनी सूचना पत्र एवं सम्बन्धित अन्य पत्र एवं निर्णय समेत बदरका लागि यथाशिघ्र आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।” ठाकुरले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?