कोरोना संक्रमित ३ सेलिब्रिटी (भिडियो रिपोर्ट सहित)

लोकपथ
325
Shares

काठमाडौँ– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बिहीवार एकैदिन अहिलेसम्मकै धेरै ३५ जनाको मृत्यु भयो ।

योसँगै नेपालमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या तीन हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बिहीवार ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको छ । बिहीवार थप ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ।

यसैगरी हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना पुगेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ३ सय ६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन्। संक्रमित मध्ये सबैभन्दा बढी २० देखि ३९ वर्ष उमेर समूहका छन्।

कोरोना भाइरसको संक्रमण तीव्रदरमा फैलिएसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । कोरोनाले बालकदेखि वृद्धसम्म, सर्वसाधारणदेखि सेलिब्रेटीसम्म सबैलाई उत्तिकै सताएको छ । पछिल्लो समय पूर्व राजपरिवार, हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठका परिवार र नायिका केकी अधिकारी पनि कोरोना संक्रमित भएका छन्।

१. पूर्वराजपरिवार

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । पूर्वरानी कोमल अस्पतालको आइसीयूमा उपचाररत छिन्। शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। पूर्व रानी कोमलको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । यस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य नै छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ती भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर फर्किएका थिए । भारतबाट फर्किएर आइसोलेशनमा बसेका शाह दम्पत्ती गाह्रो महशुस भएपछि गत शनिवार अस्पताल भर्ना भएका थिए ।

२. केकी अधिकारी

कोरोना भाइरस संक्रमित अर्की सेलिब्रिटी हुन्, नायिका केकी अधिकारी । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘केही दिन अघिको हावापानी बर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो।’

उनले चिकित्सकको सल्लाह अनुसार आफू अलगै बसेको र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ आएको उल्लेख गरेकी छन् । उनले आपूm अझै आएसोलेशनमै रहेको जानकारी दिएकी छन् । उनले सबैको सुस्वास्थ्यको कामना गर्दै उच्च सतर्कता अपनाउन सुझाव दिएकी छन्।

३. मदनकृष्ण श्रेष्ठ

कोरोना संक्रमित अर्का सेलिब्रिटी हुन्, हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ । कलाकार श्रेष्ठसहित उनका छोरा, छोरी, बुहारी र नातिनी गरी पाँचै जना लाई कोरोना संक्रमण देखिएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कोरोना भई सकेपछि सास्ती चाही हुने रहेछ त्यसैले या भाइरसलाई खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला !”

यसअघि हाँस्य मनोज गजुरेललाई पनि कोरोना संक्रमण भएको थियो । अहिले उनी कोरोनाबाट जोगिन जनचेतना फैलाउने अभियानमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनचेतनामूलक सुचनाहरु संप्रेषण गर्दै आएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “उद्घाटन, सिलन्यास, बहुमत, अल्पमत, सरकार परिवर्तन, सत्ता नियन्त्रण, मेरो, तेरो, आफन्त, पराई, बिरोध, समर्थनका सबै एजेण्डा सबैले थाँती राखौँ । महामारीसँग जुझ्ने सामुहिक एजेण्डामा लागौं । अस्थायी अस्पताल खोलौँ । अत्यावस्यक औषधिको जोहो गरौं । अक्सिजनको ब्यवस्थामा ध्यान दिउँ । आपतकालिन उपचारको तयारी गरौं । स्वास्थ्यकर्मीको हौसला बढाउँ । सुरक्षाकर्मीलाई सहयोग गरौं । नागरिकको जीवनरक्षालाई पहिलो एजेण्डा बनाउँ । हामीले महामारीलाई हल्का रुपमा लिएमा महामारी कडा भएर आउँछ । गम्भीर रुपमा लियौँ भने यसलाई हल्का रुपले हराउन सकिन्छ ।”

यस्तै उनले अर्काे सन्देशमा लेखेका छन्, “कोरोनाको महामारीसँगै फैलिएको ’सुचनाको महामारी’बाट आफू जोगिउँ, अरुलाई जोगाउँ । ’अतिरन्जित टाईटल’ देख्नासाथ आँखा चिम्लिउँ । ’अपुष्ट हेडलाईन’ सुन्नासाथ कान बन्द गरौं । झुठा अडियो लाईक नगरौं । शंकास्पद भिडियो शेयर नगरौं । भाईरल समाचार ’स्यानिटाईज’ गर्न नभुलौँ । ’फ्याक्टचेक’ले ईन्फरमेसन सफा गर्ने बानी बसालौँ । फेकन्यूजसँग डिस्टेन्स मेन्टेन गरौं । विचलित बनाउने तस्वीरलाई आईसोलेसनमा राखौं । ईम्युन पावर बढाउने सु–समाचार धेरैभन्दा धेरै पिउने गरौं । मानिसलाई आतंकित बनाउने ’सोसल मिडिया’ लाई लकडाउनमा राखौँ । समाजलाई त्रसित पार्ने मिडियामाथि निषेधाज्ञा जारी गरौं । कोरोनाको महामारीबाट बचौँ । सुचनाको महामारीबाट बचाउँ ।”

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?