यात्री मोटरसाइकलको बुकिङ्ग खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिङ्ग खल्ती डिजिटल वालेटबाट सकिने भएको छ ।

यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिङ्ग लिनेछ ।

कम्पनीले शुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिङ्ग गर्न सकिने व्यवस्था मिलाएको छ ।

यात्री मोटरसाइकलले खल्तीबाट मात्रै बुकिङ्गको भुक्तानी लिने छ । कम्पनीले नगद भुक्तानी लिने छैन ।

मोटरसाइकलको बुकिङ्ग अप्रिल २३ (शुक्रवार) देखि गर्न सकिने छ । यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाई लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो ।

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल नेपालको पहिलो विद्युतीय मोटरवाइकको प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएको बताउँछन् । ‘नेपाली विद्युतीय मोटरबाइकको लामो प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती मोवाइल एपबाटै त्यसको बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?