निषेधाज्ञा : दैनिक उपभोग्य वस्तुको आकाशियो मूल्य, बजारमा कृत्रिम अभाव

कमला अर्याल / काठमाडौं । जब जब संकट पर्छ ,तब तब त्यसको फाइदा उठाउँदै उद्योग तथा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य वृद्धि गर्ने गर्दै आइरहेका छन् ।

भूकम्पका बेला होस् या नाकाबन्दीका बेला यस्ता समस्याहरु दोहोरिने गरेका छन् । अघिल्लो वर्षको फागुनदेखि नेपाल प्रवेश गरेको कोरोना भाइरस ‘कोभिड १९’ महामारीको रुपमा फैलिएपछि दैनिक उपभोग्य वस्तुहरु, दाल, चामल, तरकारी, फलफूल,तेल लगायतको मूल्य बढेको थियो । बिचमा केही समय कम भएको कोभिडको प्रभाव पछिल्लो समय पुनः आक्रमक रुपमा बढ्न थालेको छ । यसलाई कोरोनाको दोस्रो लहर मानिएको छ । जसलाई न्युनिकरण गर्न सरकारले आज बिहान (वैशाख १६ गते) ६ बजेदेखि निषेधाज्ञा गरेको छ । त्यसको फाइदा उठाउँदै उद्योगी व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गर्ने तथा मूल्य वृद्धि गर्ने गरिरहेका छन् । जसका कारण सर्वसाधारण मारमा परेका छन् । उपभोक्ताले संयम नअपनाउँदा बजारमा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव हुनुका साथै मूल्य पनि बढ्न थालेको छ ।

उपभोक्ताले ग्यासका सिलिन्डर, दाल, चामल, खाने तेल लगायतको स्टक बढाउँदा बजारमा कृत्रिम अभाव सृजना भएको उपभोक्ता अधिकाकर्मीको भनाई छ । बजारमा अहिले कुनै पनि वस्तुको अभाव नभए पनि उपभोक्ताले कृत्रिम अभाव सृजना गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘उपभोक्ताले संयमता नअपनाउँदा कृत्रिम अभाव सृजना हुन थालेको छ ।, त्यसको फाइदा उठाउँदै व्यसायीले मूल्य बढाउँछन् ।’ उनले भने ।

सर्वसाधारणले यस्तो अवस्था सृजना नगर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाको जोड थियो । सरकारको अनुगमन चुस्त दुरुस्त नहुँदा बजारको व्यवस्थापन नै नमिलेको उनको भनाई छ ।

अहिले बजारमा तरकारीको मूल्य निकै उच्च रुपले बढेको छ । व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेर तरकारीको मूल्य वृद्धि गरेका छन् । उपत्यकामा निषेधाज्ञा भएसँगै व्यवसायीहरुले बाहिरबाट तरकारी नआएको, कम आएको तथा प्रशस्त मात्रामा नपाएको भन्दै मूल्य बढाउने गरेका छन् ।

व्यवसायीहरुले अहिले कालीमाटीमा पाइने भाउको दोब्बर तेब्बर मूल्यमा तरकारी बिक्री गरिरहेका छन् । हिजोसम्म खुद्रा व्यापारीले ३०÷४० रुपैँया किलोमा गोलभेडा बिक्री गरेका थिए । तर आजै गोलभेडाको भाउ ८० देखि १०० रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य तरकारीको मूल्य पनि आफूखुसी बढाउन शुरु गरेका छन् ।
त्यस्तै, उपभोक्ताले बन्दको त्रासका कारण खाना पकाउने एलपी ग्याँसको पनि बढी मात्रामा स्टक राख्न थालेका छन् । अहिले ग्यासका डिलरहरुमा उपभोक्ताको लाइन लाग्ने गरेको छ । तर आयल निगमले भने निगमसँग स्टक भएकाले ग्याँसको अभाव नहुने जनाएको छ ।

कस्तो छ सरकारको तयारी ?

संकटका बेला बजारमा समस्या आउन सक्ने आँकलन गर्दै सरकार तयारीका साथ बसेको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको पूर्ण तयारी गरेको छ । विभागका प्रवक्ता शिवराज सेँढाईका अनुसार विभागले उपभोक्तालाई संयम हुन तथा व्यवसायीहरुलाई पनि अनावश्यक कृत्रिम अभाव सिर्जना नगर्न अनुरोध गरेको छ । व्यवसायीहरुलाई कानुनी दायरामा रहेर व्यवसाय गर्न अनुरोध गरेको प्रवक्ता सेढाईले बताए । तर कानुनको उलंघन गरी कृत्रिम अभाव गर्ने र मूल्य वृद्धि गर्नेलाई कानुनी कारवाहीको तयारी समेत गरेको प्रवक्ता सेढाईको भनाई छ ।

‘कानुन विपरित कृत्रिम अभाव गर्ने र मूल्य बढाउने गरेमा कडा कारवाही हुन्छ ।’ उनले भने । विभागले अन्य बेलाको तुलनामा अनुगमन गर्ने गरेकोमा ६ वटा टोली अनुगमनका लागि खटाएको छ । तत्काल रेस्पोन्सका लागि अर्काे टोलीलाई पनि विभागले तयारी अवस्थामा राखेको छ । साथै विभागले हटलाईन नम्बर ११३७ (पैसा नलाग्ने)मा पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?