सर्वाधिक उचाईमा ‘स्ट्याण्डअप कमेडी’को विश्व कीर्तिमान राख्दै ‘नेपग्याजम कमेडी’

काठमाडौं-  नेपाली युवापुस्ता माझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ ।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको हो। विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेद कालापत्थरमा संचालन हुनेछ।

यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए।

नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न ५,६४३ मिटरमा स्ट्यान्डअप कमेडी गर्न लागेको हो। त्यसका लागि आफ्ना दुई स्टयाण्डअप कमेडीयनलाई प्रस्तुत गर्नेछ । कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ।

नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्नेछन् । उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस-तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कर्यक्रम रहेको  नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले बताए।

कार्यक्रमका लागि ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत् कालापत्थर जाने तयारीमा छ । “हामीले यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौं”, नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले बताए।

कलाकार गौतमले विश्वकै अग्लो भूभागमा प्रस्तुती दिने कुरा आफ्नो लागि मात्रै नभई सबै नेपालीका लागि गर्वको कुरा भएको बताए । कोरोना महामारीकाबीच विश्वलाई हसाउने चाहना रहेको बताउँदै उनले भने, “कठिनाइ भएपनि नेपालीको माया नै हाम्रोलागि अक्सिजन झै भएको छ ।” सबैको साथ सहयोगले आफूहरुको मनोवल उच्च भएको उनको भनाइ छ।

यस्तै अर्का कलाकार त्रितालले कोरोना, राजनैतिक खिचातानी, बेरोजगार जस्ता समस्याले तनावपूर्ण अवस्थामा केही सुखद समाचार दिउँ भन्ने चाहनाका साथ प्रस्तुती दिन लागेको बताए । उनले भने, “यो नेपालीका लागि गौरवको कुरा हो, सम्पूर्ण नेपग्याजम कमेडीप्रेमी फ्यानहरुको मायाले हामीलाई थप ऊर्जा मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?