ओलीलाई रावलको चेतावनी : ‘विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म हामी रोकिन्नौँ’

काठमाडौं । नेकपा(एमाले)का नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफूहरुको अभियान बन्द नहुने बताएका छन् ।

बुधवार नेकपा(एमाले) माधव समूहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताएका हुन् । उनले भने– ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा(एमाले)को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यि जतिपनि गतिविधि गर्नुभएको छ यि स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई नेकपा(एमाले)को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौँ त्यो सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई जारी राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइदैन तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुर्नपुष्टि गरेका छौँ ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताए । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उनको भनाई छ । उनले भने– ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपथ्र्यो, औषधि उपचार, स्वास्थ्यकर्मी लगायतका अरु काम गर्नुपथ्र्यो त्यसतर्फ सरकारले प्रभावकारी रुपमा काम गरेको पनि देखिएन् । सरकारले पनि यसमा प्रभावकारी रुपले काम गर्नुपर्छ भन्नेकुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आव्हान गर्ने निर्णय गरेका छौँ ।’

नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताए । नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?